काठमाडाैं । मंगलबार र बुधबार घटेको सुनचाँदीको मूल्य आज पनि घटेको छ। आज सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
हिजो बुधबार सुन एक हजार २०० रुपैयाँले नै घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो तीन दिन यता सुन चार हजार १०० रुपैयाँले घटेको छ। आज बिहीबार चाँदीको भाउमा पनि गिरावट आएको छ। यस दिन चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला एक हजार १२० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार भने चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार १९० रुपैयाँ तोकिएको थियो। मंगलबार यता चाँदी २०० रुपैयाँ घटेको छ।