असोज २० । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले घोषित निर्वाचन युद्ध थोपर्न गरिएको नाटक मात्रै भएको बताएको छ ।
भारत भ्रमणमा रहेको अवस्थामा प्रधानसेनापति राणाले कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिएको भन्दै अमर्यादित अभिव्यक्ति दिने प्रधानसेनापतिलाई कारबाही गर्न मोर्चाले सरकारसंग माग पनि गरेको छ ।
मोर्चाको आइतबार राजधानीमा बसेको बैठकले मंसीर ४ को निर्वाचन जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्नका नभएको दाबी समेत गरेको छ । घोषित निर्वाचन जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणका लागि नभई निर्वाचनको आवरणमा निरङ्कुशतन्त्र तथा युद्ध थोपर्न नाटक मात्र भएको मोर्चाको दाबी छ । निर्वाचनलाई मोर्चाले मुलुकमा द्वन्द्व बढाएर राष्ट्रिय अस्मितालाई समाप्त पार्न लागिएको नौटंकीको संज्ञा समेत दिएको छ । ३३ दलीय मोर्चाको तर्फबाट सहमतिको लागि अत्यन्त लचकतामा ४ बुंदे प्रस्ताव प्रस्तुत गर्दागर्दै पनि बाह्य शक्तिहरुको गुरुयोजनामा निर्वाचन गर्न लागिएको मोर्चाको ठहर छ ।
जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण र राष्ट्रिय स्वाधीनताको रक्षाको लागि राजनीतिक दलहरुको बीचमा नै राष्ट्रिय संयुक्त सरकारको गठन गरेर सहमतिमा संविधानसभाको निर्वाचन भन्ने भएको भन्दै मोर्चाले त्यसैको पक्षमा भएको आन्दोलनका कार्यक्रमहरु सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
दलहरुको बीचमा राष्ट्रिय सहमति कायम गरी निर्वाचन सम्पन्न गर्नका लागि उम्मेद्वार बनेका विभिन्न दलका उम्मेदवारहरुलाई उम्मेद्वारी फिर्ता लिएर दलीय सहमति कायम गरी सहयोग पु¥याउन बैठकपछि ३३ दलका तर्फबाट देव गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा आग्रह समेत गरिएको छ ।
मोर्चाले बारामा एमाले उम्मेदवारमाथि खुला सिमाना दुरुपयोग गर्दै भारतीय नम्बर प्लेटको मोटरसाईकल प्रयोग गरी नियोजित रुपमा गरिएको हत्या प्रयासले पनि यो निर्वाचन राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेपसंग जोडिएको पुष्टि भएको पनि ठहर गरेको छ ।
निर्वाचनजस्तो आन्तरिक मामिलामा राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई प्रयोग गर्ने निर्णय गरेको प्रति आपत्ति जनाउंदै मोर्चाले खुला सिमानाबाट हुने आपराधिक गतिविधिको नियन्त्रण नगर्नु, बाहय सुरक्षाकर्मीहरु नेपाल प्रवेश गरी गिरफ्तारी र नेपाली जनताको घर खानतलासी गर्दा पनि कुनै कारवाही नगर्नु वर्तमान सरकार र चार दलीय नेताहरुको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तनको ज्वलन्त दृष्टान्त भएको समेत उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छर्, यस परिघटनाबाट खुला सिमा नियन्त्रण गरिनु पर्ने र भारतीय नम्बर प्लेटका वाहनहरु नेपाल प्रवेशमा रोक लगाउने ३३ दलीय मोर्चाको निर्णय सही रहेको प्रमाणित भएको छ ।’
मोर्चाले आफ्ना नेता तथा कार्यकर्ताको रिहाई तथा घाइतेहरुलाई निःशुल्क उपचार गर्न सरकारसंग माग पनि गरेको छ ।