Tuesday, August 18, 2026
20.1 C
Kathmandu
Home मुख्य समाचार कक्षा ११ मा यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन

कक्षा ११ मा यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन

काठमाडौं । सरकारले कक्षा ११ मा यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार जरुरी सूचना जारी गर्दै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनसार यसै वर्ष (२०७७) देखि नै नयाँ पाठ्यक्रम लागू गर्न पुनः निर्देशन दिएको हो।

राजधानीका केही विद्यालयले सरकारको निर्देशन अटेर गर्दै महामारीको कारण देखाएर पुरानै पाठ्यक्रम अनुसार कक्षा संचालन गर्न थालेका थिए। यस विषयमा नेपाल लाइभले समाचार प्रकाशन गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफूले सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताएका थिए।

’केही विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउने भनी विद्यार्थी भर्ना गराइरहेको भन्ने जनगुनासो आएकाले कक्षा ११ संचालन भएका सबै विद्यालयले नयाँ पाठ्यक्रम अनुसार मात्र गर्न गराउन र सोही अनुसार मूल्यांकन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार कक्षा संचालन भएको यकिन गरेर मात्र विद्यार्थी भर्ना गर्न समेत मन्त्रालयले सबै अभिभावहरूलाई आग्रह समेत गरेको छ। कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू भएरनभएको सम्बन्धमा अनुगमन र निर्देशन दिने जिम्मेवारी भने स्थानीय तहहरूलाई दिइएको छ। कक्षा १२ मा भने आगामी वर्षदेखि मात्र नयाँ पाठ्यक्रम लागू हुने समेत मन्त्रालयले स्पष्ट पारेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।