अब कोरोना बिमाको रकम ७ दिनमै

काठमाडौं । कोरोना बिमा बापतको रकम अब ७ दिनमै पाइने भएको छ । यसअघिका विज्ञ अर्थमन्त्रीको उपमा समेत पाएका डा. युवराज खतिवडाले बिमा बापतको रकम दिलाउन बेवास्ता गर्दै आएकोमा हालका अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा अब भने ७ दिनभित्रै कोरोना बिमा बापतको रकम पाइने भएको हो ।

अर्थ मन्त्रालयले मंगलबार बिमा समितिबाट जारी भएका कोरोना बिमालेख बमोजिमको दाबी गरेका बिमितहरुको बिमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।कोरोना बिमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएपछि बिमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बिमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा भएको बैठकपछि एक हप्ताभित्र बिमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बिमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।