राष्ट्रपतिको भूमिकाप्रति भिम रावलले उठाए प्रश्न

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको पछिल्लो विवादमा राष्ट्रपतिको भूमिकाको विषयमा पार्टी नेता भिम रावलले प्रश्न उठाएका छन् । नेकपा स्थायी कमिटी सदस्य रावलले पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपतिले कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहेको खबर आइरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
यसअघि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शितलनिवास बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकताको रक्षाका लागि पहल गर्न आग्रह गरेको खबरहरू आएका थिए।
त्यसलाई लक्षित गर्दै उनले भनेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’