ओली-प्रचण्डबीच बालुवाटार बैठकमा घम्साघम्सी र भनाभन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बैठकमै घम्साघम्सी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको सचिवालय बैठकमा दुई अध्यक्षबीच भनाभन समेत भएको छ ।
सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा बसेर नहुने भन्दै अबदेखि पार्टी कार्यालयमै बैठक बस्नुपर्ने जनाए । लगत्तै जवाफमा ओलीले सचिवालय बैठक नै जरुरी नभएको जनाए । बैठकमा ओलीले सचिवालयमा प्रस्तुत कुनै पनि दस्तावेजमा छलफल आवश्यक नै नरहेको र बैठक बस्नु पनि जरुरी नभएको बताएपछि प्रचण्ड आक्रोशित भएका थिए ।
उनले अर्का अध्यक्ष ओलीलाई बैठक नै हुन्न, छलफल नै हुन्न भन्ने तपाई को हो भनेर समेत सोधेका थिए । प्रचण्डले अन्य सचिवालय सदस्यहरूलाई कमरेडहरू बैठक नबस्ने र छलफल नै नहुने भन्ने कुरा सही हो त भनेर प्रश्न समेत गरेका थिए । विष्णु पौडेलबाहेक सबै सचिवालय सदस्यहरूले बैठक र छलफल दुवै आवश्यक रहेको र यसमा दायाँबायाँ गर्न नहुने धारणा राखेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले त सबै समस्याको कारकतत्व नै ओली रहेको भन्दै कडा प्रतिवाद समेत गरेका थिए ।