काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको ‘एकता महाधिवेशनसम्म सहमति र समझदारीमा अघि बढ्ने’ समझदारी शनिबार विधिवत् रूपमा तोडिएको छ ।

बहुमत सदस्यहरूको पहलमा शनिबार बसेको सचिवालय बैठक र त्यही बैठकका बहुमत सदस्यहरूबाट व्यक्त रायका आधारमा आइतबारका लागि स्थायी कमिटी बैठक तोकेर नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेको हो । योसँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली थप अप्ठ्यारोमा परेका छन् ।

साढे दुई वर्षअघिको समझदारीपत्रको पहिलो बुँदामै ‘आगामी एकता महाधिवेशन वैचारिक, राजनीतिक विषय एवम् नेतृत्व निर्माण र संगठनसम्बन्धी विषय अल्पमत, बहुमतका आधारमा नभई सहमति र समझदारीका आधारमा टुंगो लगाउने’ भनिएको छ । ‘पार्टी अब विधानअनुसार अगाडि बढ्ने भयो, एकताको महाधिवेशनबाट सहमतिका आधारमा नेतृत्व नछान्दासम्म सबै विषयमा समझदारीकै आधारमा अघि बढ्ने भन्ने पूर्ववर्ती सहमति अध्यक्षद्वयबाटै तोडियो, आज (शनिबार) सचिवालय बैठक बसौं भन्नेमा दुई अध्यक्षबीच सहमति थिएन,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘भोलि स्थायी कमिटी बैठक पनि सहमतिले होइन, कमिटीले राखेको हो ।’

नेताहरूका अनुसार झन्डै साढे ४ घण्टा बसेको सचिवालयको बैठक आइतबार स्थायी कमिटी बैठक बोलाउने या नबोलाउने भन्नेमै केन्द्रित भएको थियो । बैठक सुरु हुनेबित्तिकै अध्यक्ष दाहालले स्थायी कमिटीको बैठक बोलाएर सचिवालयका सबै दस्ताबेज अध्ययनका लागि सदस्यहरूलाई दिने र केही समय लिएर सचिवालयमा फेरि छलफल चलाउनुपर्ने प्रस्ताव गरेका थिए । कान्तिपुरमा खबर छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।