काठमाडौं : लोकसेवा आयोगले विभिन्न सेवाका लागि ३६० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो । आयोगले प्रकाशन गरेको विज्ञापन अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलामा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, आपंग र पिछडिएको क्षेत्रका लागि २–२ जनाका लागि विज्ञपान गरेको छ ।
त्यस्तै, खुलातर्फ सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ र परराष्ट्र सेवाका लागि १ जना अधिकृत मागेको छ । महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा २ जना माग गरेको आयोगले जनाएको छ । त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना उम्मेद्वार माग गरेको छ।
मधेसी कोटामा प्रशासनमा ८, लेखा ६, राजश्व ८, लेखापरिक्षण २ र परराष्ट्रमा १ जना अधिकृत मागिएको छ । आयोगले दलित कोटामा सामान्य प्रशासनमा ३, लेखामा दुई, राजश्वमा २, लेखापरीक्षणमा १ त्यस्तै अपांगता भएकाका लागि प्रशासनमा २, लेखामा २, राजश्वमा २ जना र लेखापरीक्षणमा १ जना माग गरेको छ । यस्तै, पिछडिएको क्षेत्रका लागि प्रशासनमा २, लेखामा १ र राजश्वमा २ जना माग गरिएको छ ।
आयोगले फर्म भर्ने म्याद पुष १४ गतेसम्म र दोब्बदर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । आवेदन दस्तुर १ हजार रुपैयाँ निर्धारण गरिएको छ भने एकभन्दा बढी समूहमा आवेदन दिनेले थप ४०० रुपैयाँ बुझाउनुपर्ने छ । सबै सेवाका लागि सम्बन्धित विषयमा स्नातक उत्तीण गरेको हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ । आयोगले थप १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने पनि जनाएको छ ।