काठमाडौं । घटना शनिबारको हो । मौसम चिसो भएपनि राजनीति भने खुबै तात्यो । यसरी तात्नुको एक कारण थियो– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार अकस्मात् पुग्नु । हुन पनि प्रचण्ड बालुवाटार सयौं पटक पुगेका छन् । तर ओली खुमलटार दुइ पटक र राजनीतिक विषयमा छलफल गर्न भने पहिलो पटक पुगेका हुन् । यसअघि २०७५ मंसिरमा दाहालका छोरा प्रकाशको पहिलो स्मृतिसभामा सहभागी हुन खुमलटार गएका थिए ।
प्रचण्ड निवास पुगेर ओलीले राजनीतिक प्रतिवेदन फिर्ता गर्न माग गरे । तर, प्रचण्डले सचिवालय तथा स्थायी कमिटीमा पेश भइसकेकाले फिर्ता गर्ने नगर्ने सबै विषय त्यहीँबाट गरौं भन्ने जवाफ फर्काए । दुई अध्यक्षबीचको भेटवार्ताकै क्रममा नेकपाका उपाध्यक्ष वामदेव पनि थपिएका थिए । तर, उनीहरुबीच पुरानै अडान पेश गर्ने र दोहोर्याउने बाहेकका कुनै सहमति हुन सकेन ।
बरु, बालुवाटारबाट खुमलटार पुगेर करिब १ घण्टा बिताएका प्रधानमन्त्री ओलीले प्रचण्ड निवासमा पानी पनि नपिई निस्किए । नेपाली सँस्कारमा पाहुनालाई चिया वा त्यो पनि नभए पानी भए पनि दिनुपर्छ भन्ने चलन छ । त्यहीँ चलन अध्यक्ष निवासमा पनि नहुने कुरा भएन । जब चिया तथा पानीको अफर आयो । प्रधानमन्त्री ओलीले मलाई चिकित्सकले बाहिर नखानु भन्नु भएको छ भन्दै आफैंले पानी बोकेर ल्याएकाे जनाए । अन्त्यमा कुनै सहमति नभएपनि प्रधानमन्त्री ओली निस्किए । बालुवाटार फर्कने क्रममा सचिवालय सदस्य तथा गृहमन्त्री बादललाई भेट्न उनकै निवासमा हानिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।