ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष केपी शर्मा ओलीको स्थानमा बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष चयन भएका छन् । काठमाडौंमा मंगलबार प्रचण्ड–माधव बहुमत केन्द्रीय सदस्यहरु उपस्थित केन्द्रीय कमिटी बैठकले ओलीमाथि कारबाही गर्दै नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको हो । वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाल अध्यक्ष चयन भएका हुन् ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार नै ओली निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो । ओली निकटहरुले पनि प्रचण्ड र नेपाललाई कारबाही गरेको पत्र निर्वाचन आयोगका दर्ता गरिसकेको बताइएको छ ।