असोज ११ । जाजरकोट जिल्ला अस्पताल डाक्टरविहीन हुँदा अहेवको भरमा रहेको छ ।
जिल्ला अस्पतालमा कार्यरत एक मात्र चिकित्सक गणेशसिंह भण्डारी आफ्नो स्वास्थ्यको कारण दर्शाउदै जिल्ला छोडेपछि दुई सातादेखि जिल्ला चिकित्सकबिहीन भएको हो ।
जिल्ला अस्पतालमा २ र प्राथमिक स्वास्थ्य केन्द्रमा २ गरी ४ जना चिकित्सकको दरबन्दी भएता पनि चिकित्सक नहुँदा उपचारमा समस्या परेको छ । जिल्ला अस्पतालमा अहिले अहेवले उपचार गरिरहेका छन् । लामो समयसम्म चिकित्सकविहीन भएको जिल्ला अस्पतालमा चिकित्सकको माग गर्दै जिल्लावासी आन्दोलनमा उत्रिएपछि गत असारमा स्वास्थ्य सेवा विभागले डा. भण्डारीलाई पठाएको थियो ।
उनी पनि आफ्नो व्यक्तिगत स्वास्थ्यको कारण देखाउँदै आएको ३ महिनामै फर्केपछि फेरि चिकित्सकविहिन भएर अहेवले अस्पताल चलाउनुपरेको हो ।
डा. भण्डारी आएपछि लामो समयसम्म अलपत्र अवस्थामा रहेको भिडियो एक्सरे सेवा सुचारु भएको थियो भने उपचारमा सहजता आएको थियो ।
स्वास्थ्य संस्थामा रहेका अरु चिकित्सकको दरबन्दी लामो समयसम्म पदपुर्ति हुन सकेका छैनन् । चिकित्सक नहुँदा सामान्य उपचारको लागि पनि रुकुमको चौरजहारीस्थित मिसन अस्पताल, सुर्खेत, नेपालगञ्ज, लखनउ, काठमाडौं लगायतका शहरमा हजारौँ खर्चेर जान बाध्य भएको खलंगा ९ का सहदेव बस्नेतले बताए ।
जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले डा. भण्डारी घरविदामा गएकोले छिट्टै आउने बताए । उनले दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ति गर्न सम्बन्धित निकायमा माग गरिएको उल्लेख गरे ।