काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड र माधव नेपालले गरेको आन्दोलनमा सहभागी संख्यालाई औषधी बेच्नेले पनि जम्मा गर्ने संख्या भनेर व्यंग्य गरेका छन् । ओलीले दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टी गतिसाथ अघि बढेको दावी पनि गरेका छन् ।

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे । ‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि मान्छे भेला पार्छ । उहाँहरुको हालत त्यही हो । उहाँहरुसँग राजनीति छैन । लोकतन्त्र छैन ।’

उनले प्रचण्ड-माधव समूहले पार्टी आधिकारिकता र चुनाव चिन्ह दावी गरेको कुराप्रति पनि आपत्ति जनाए । ओलीले भने, ‘भेट्नो कुहिएर झरेका फलले रुखै मै हुँ भनेर दावी गर्ने, जसको कटेरो उसैको पुच्छर बाहिर भनेजस्तो ।’

उनले आफूहरुले अझै पनि प्रचण्डहरुलाई बैठकमा बोलाएको र उनलाई अध्यक्षबाट नहटाएको बताएका छन् । उनले भने, ‘पुष्पकमल दाहाललाई हामीले अहिले पनि अध्यक्षमा राखेका छौँ । माधव नेपाल झलनाथलाई वरिष्ठ नेतामा राखेका छौँ । हामी कुनै हतारो गरेका छैनौँ । तर पेरिसडाँडामा पत्रकार सम्मेलन चलिराखेको छ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।