काठमाडौं । भारतले आफ्नो देशमा कोरोना खोप प्रयोगका लागि स्वीकृती दिएको छ । भारत सरकारले दुईवटा कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको हो । औषधि नियन्त्रण महानिर्देशनालयले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’लाई स्वीकृति दिएको हो ।

महानिर्देशनालयले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै दुई खोपका सम्बन्धमा कम्पनीहरूले प्रस्तुत गरेको तथ्यांक र आवश्यक विवरणहरूको अध्ययनपछि दुवैलाई आपत्कालीन प्रयोगका लागि अन्तिम स्वीकृति दिने निर्णय गरिएको जनाएको छ । कोभिसिल्डको उत्पादन सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) र कोभ्याक्सिनको उत्पादन हैदराबादस्थित भारत बायोटेकले गरिरहेको छ ।

यसअघि शुक्रबार र शनिबार भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गतको विषयगत विज्ञ समितिले कोभिसिल्ड र कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।