नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने तर्क गरेका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले शनिबार भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने दावी गरे ।

पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताए । उनले भने, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।” आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उनको भनाइ थियो ।

“संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उनले भने । संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप उनले आरोप लगाए ।

अदालतलाई आफूहरुले दवाव नदिएको बताउँदै उनले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको दाबी गरे । आफूहरु सडकमा आउन बाध्य भएको भन्दै उनले भने, “लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लाग्दैन ।” संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने भन्दै नेता पौडेलले भने, “जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्दैन ।” कार्यक्रममा कांग्रेस नेतृ डीला सङ्ग्रौलाले र चितवनका सभापति जीतनारायण श्रेष्ठले विगतका निर्वाचनमा अरुलाई भोट दिएर ठूलो गल्ती गरेको बताए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।