नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र, सङ्घीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको बताएका छन् । बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको र उक्त बहसका कारण संसद् भङ्ग गरिनु अस्वभाविक भएको बताए ।

उनले राम्रो र नराम्रो विचारको जहिल्यै बहस हुने गरेको र अहिले पार्टीभित्रको विवादका विषयले जनताको सार्वभौमसत्तामाथि नै आक्रमण गर्नेका विरुद्ध उत्रिनुपर्ने बेला आएको बताए । उनले वर्तमान संविधान आफैँमा पूर्ण नभए पनि अधिकतम रुपले आदिवासी जनजाति तथा पछाडि परेका वर्ग समुदायको अधिकारलाई अधिकांशरुपमा संस्थागत गरेकाले संविधानको संरक्षणमा जुट्न आग्रह गरे ।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दा सबै जाति वर्ग समुदायको भूमिका महत्वपूर्ण रहेकाले सबैले समानरुपमा अवसर प्राप्त गर्ने हक रहेको बताए । अहिले गणतन्त्र सङ्कटमा परेको टिप्पणी गर्दै उनले गणतन्त्रको रक्षाका लागि सबै एक हुनुको विकल्प नरहेको पनि बताए । “पहिले सबै शक्ति र सार्वभौम अधिकार राजकीय संस्थामा नीहित थियो, तर पहिलो पटक यो संविधानले सबैलाई समान अधिकार प्रदान गरेको छ, यसलाई सबै मिलेर जोगाउनुपर्छ”, उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।