काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा भोलि नेकपाका प्रचण्ड–नेपाल समूहले संघीय राजधानीमा विशाल विरोध प्रदर्शन तथा सभाको आयोजना गर्दैछ ।
विभिन्न ठाउँबाट विरोध प्रदर्शन केन्द्रित भएर राष्ट्रियसभामा आएपछि सभामा परिणत हुनेछ । भोलि माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कपुण्डोल, प्रदर्शनमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पस लगायतका ठाउँबाट विरोध प्रदर्शन गरिनेछ । ती जुलुसहरु रत्नपार्कमा जम्मा भएर मुख्य जुलुसमा परिणत हुनेछ भने मुल जुलुस रत्नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपको विरोध सभामा परिणत हुने केन्द्रिय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मुल जुलुसको नेतृत्व पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गर्ने कार्यक्रम रहेको छ । विरोध प्रर्दशनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर तथा खेलकुद मोर्चाको दुई हजार स्वयम् सेवक परिचालनगरिने संघर्ष समितिले जनाएको छ ।
नेकपा नेतृ पम्फा भुसालले विरोध प्रदर्शन नेकपाको मात्रै नभएर संघीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रमनका पक्षधरहरुको साझा आन्दोलन रहेको जानकारी दिइन् । संघर्ष समितिले आन्दोलन शान्तिपूर्ण हुने जनाएको छ । सरकारी पक्षले घुसपेठ गरेर आन्दोलन भाड्न सक्ने भन्दै त्यसतर्फ पनि सचेत हुने संघर्ष समितिले जनाएको छ ।
यसरी गर्दैछ नेकपाले भोलि काठमाडौंमा संसद विघटनको विरुद्ध विशाल विरोध प्रदर्शन र सभा
Comments