रामबहादुर थापा र टोपबहादुर नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी युद्धमा लागेकाहरुलाई बाँदर भनेकोमा चर्को आक्रोश पोखेका छन् । उनले यदि माओवादी युद्धमा लागेकाहरु बाँदर हुने भए रामबहादुर थापा र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेको समेत टिप्पणी गरे । ‘तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका दुई बाँदर छन्’, पुनले प्रश्न गरे, ‘दुई वटा ढेडु बाँदरलाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला ?’

बुटवलमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै पुनले ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकोमा चर्को आलोचना गरेका हुन् । पूर्वमाओवादीकै कारण ओली दुईपटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्‍न पुनले ओलीलाई आग्रह गरे ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

‘जसका कारण तपाईं दुईपटक देशको प्रधानमन्त्री बन्‍नुभयो, जसको योगदानले दुईपटक देशको प्रधानमन्त्री बन्‍नुभयो, उही कुहिएको फर्सी ?, उही बाँदर ?’ उनले प्रश्न गरे । पुनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा जननिर्वाचित प्रतिनिधिसभाको हत्या भएको भन्दै सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्‍वास व्यक्त गरेका छन् ।