नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा !

दोलखाको तामाकोशी गाउँपालिका १ का लक्षुमण माझीलाई ठग समूहको एक गिरोहले करोडौँको राजस्व छली मुद्दामा फसाइदिएको छ ।उक्त गिरोहले तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनल नामक कम्पनी दर्ता गरी राजस्व छली गर्ने गरेको पाइएको हो ।
राजस्व अनुसन्धान विभागले माझीको नामबाट दर्ता भएको स्थायी लेखा नम्बर ६०५४२८२७२बाट पाँच करोड २०लाख राजस्व छली गरेको अभियोगमा माझीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले गत पुस १६गते माझीलाई अदालतमा हाजिर हुन पत्र पठाएको छ । अदालतले करोडौँ राजस्व छलीको मुद्दामा उपस्थित हुन माझीलाई पत्र आएपछि उनीलगायत सिंगो बस्ती नै त्रसित भएका छन् । गाउँमा माछा मारेर जेनतेन परिवार पाल्दै आएका माझी अहिले करोडौँ रुपैयाँ राजस्व छली गर्ने अभियुक्त बनेका छन् ।

कसरी फसे माझी ? २०७२सालको भूकम्पपछि जिल्लाको अधिकांश बस्ती ध्वस्त बने । माझी गाउँ पनि अछूतो रहेन । भूकम्पपछि पीडितहरूका लागि खाद्यान्न लत्ताकपडा जस्तापातासहितका राहत लिएर आउनेहरूको गाउँमा ओइरो लाग्यो । त्यसमा पनि दलित जनजाति र माझीजस्ता पिछडिएका बस्ती र समुदाय यसको निशानामा परे । भूकम्प गएको एक वर्षपछि गाउँमा कपडा बेच्न हिँडिराख्ने महेन्द्र यादवले लक्षुमणलाई नयाँ घर बनाइदिने र राहत दिने मान्छे भेटाइदिने भन्दै काठमाडौं बोलाए । लक्षुमण पनि नयाँ घर पाउने आशामा तीन पटकसम्म काठमाडौं आएर महेन्द्रले भनेको व्यक्तिलाई भेटे ।

लक्षुमणका अनुसार ३पटकसम्म काठमाडौं आउँदा ती व्यक्तिले उनलाई ३६हजार ५सय रुपैयाँ पनि दिए । पैसा दिएपछि माझीसँग पहिलोपटक व्यक्तिले नागरिकताको फोटोकपी र फोटो खिचेर लगे । पीडित माझीले आर्थिक दैनिकसँग भने दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर ल्याएछन् सबैमा सही गर्न लगाए । राहत पाउने आशामा पढलेख गर्न नजानेका लक्षुमणले उनीहरुले भनेकै ठाउँमा सही र ल्याप्चे लगाइदिए । उनलाई काठमाडौंमा लाने काम भने नरेन्द्र राय यादव र धीरेन्द्र राय यादवले गरेका थिए ।

माझीको सम्पूर्ण कागजपत्र जम्मा गरेपछि उनीहरु टाढिएका थिए । उनीहरुले नै माझीको नाममा कम्पनी दर्ता गरेर राजस्व छली गरेको हुनसक्ने स्थानीय जनप्रतिनिधिको आशंका छ । राहत दिनेको व्यक्तिको नाम ठेगाना केही जानकारी नभए पनि देखे अनुहार चिन्नसक्ने उनी बताउँछन् । राहतका नाममा लक्षुमणजस्तै माझीगाउँका अधिकाँश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गरेका छन् । दिनेश माझी देवेन्द्र माझी नारायण माझी मोहन खत्री काफ्ले र शरण माझी पनि एउटै व्यक्तिलाई नागरिकता दिएर राहत लिनेमा पर्छन् । लक्षुमणजस्तै आफूलाई पनि यस्तै पत्र आउने हो कि भन्ने चिन्ता यी स्थानीयबासीलाई परेको छ । -आर्थिक दैनिक

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।