प्रमुख आयुक्त र आयुक्त नियुक्त भएकै दिन किन दिए अख्तियारबाट जोशीले राजीनामा !

काठमाडौं । अख्तियारमा प्रमुख आयुक्त प्रेमकुमार राई तथा आयुक्तहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्द नियुक्त भएकै दिन आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् । आयुक्त जोशीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । उनी नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका थिए । उनको राजीनामाको कारण खुलेको छैन ।
स्रोतहरुका अनुसार आफू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको जनाइएको छ । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राईले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् । उनी २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव भएका थिए । त्यति बेला जोशी अख्तियारमा आयुक्त थिए । २०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउँदै थिए ।