काठमाडाैं । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले बिहीबार २२ माघका दिन आम हड्ताल गर्ने घोषणा गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताए । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’
हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ । संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ ।