असोज ५ । गएको असार महिनामा भारतको केदारनाथ गौरीकुण्डबाट बेपत्ता भएका एक व्यक्ति चार महिनापछि जीवित्तै घर फर्केका छन्। जिल्लाको भल्चौर– १ का बाबुराम विक शुक्रबार जीवित्तै घर फर्केका हुन्। चार महिना बितिसक्दा पनि उनको कुनै खबर नआएपछि परिवारले उनको काजकिरियासमेत गरिसकेका थिए ।

काजक्रिया गरेर माया मारिसकेका बाबुराम फर्किएपछि घर परिवार र छिमेकीले उनलाई बाजागाजासहित घरमा लगेका थिए। काजक्रिया गरिसकेको हुँदा शनिबार बिहान गाउँलेले स्थानीय शिव मन्दिरमा विक र उनकी श्रीमती नोखी विकको दोस्रो विवाहसमेत गराइदिएका छन्। असारदेखि रातो कपडा, सिन्दुर, चुरापोते लाउन छाडेकी विकले पुनः लाउन पाएकी छिन्। श्रीमान् घर फर्केर आएपछि दोस्रो विवाह गाउँलेले गराई दिँदा उनी धेरै खुसी छिन् ।

बेपत्ता भएका उनको गाविसमा मृत्यु दर्तासमेत भइसकेको बताइन्छ। बाढीमा परेर घाइते भएका बाबुरामलाई बेहोस अवस्थामा सेनाको हेलिकप्टरले उद्धार गरी अस्पताल पुर्‍याएको थियो। होसमा आएपछि आफू नजिकैको कर्णपारक अस्पताल रहेका थाहा पाएका उनले रासससँग टेलिफोनमा भने, ‘सेनाको उद्धारबाट बाँच्न सफल भएँ, मैले पुनर्जन्म पाएँ।’

उपचारका क्रममा झण्डै दुई महिना अस्पताल बसेको र अस्पतालले नै घर जान दुई हजार ५०० गाडी भाडा दिएको उनले बताए। गौरीकुण्डमा घाइते भएका धेरै नेपालीले उक्त अस्पतालमा उपचार गराइरहेको उनको भनाइ छ। रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।