सेना दिवसमा पनि हटाइयो कुर्सीः सभामुख र प्रधानन्यायाधीशको पछाडी पुर्याइयो

काठमाडौं । दुई अध्यक्ष प्रणाली रहेको नेकपा एक हुँदा पुष्पकमल दाहाल प्रचण्डको कुर्सी कहिले अगाडी त कहिले पछाडी पुर्याई जस्तै घटना सेना दिवसमा पनि देखिएको छ । यसअघि, पहिलो लहरमा राज्यका तीन वटै अंगका प्रमुखको कुर्सी हुने गरेकोमा यो पटक भने दुई वटा अंग प्रमुखका कुर्सी पछाडी पुर्याइएको छ ।

सेना दिवसका अवसरमा बिहीबार टुडिखेलमा आयोजित कार्यक्रमको पहिलो लहरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, उपपराष्ट्र नन्दकिशोर पुन पासाङ र सँगै सेना प्रमुख पूर्णचन्द्र थापा छन् । तर, सभामुख अग्नि सापकोटा र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा भने दोस्रो लहरमा छन् । अघिल्ला वर्षहरुमा सभामुख र प्रधानन्यायाधीशको कुर्सी पनि अघिल्लो लहरमा हुने गरेको थियो ।

सर्वोच्चले हालै प्रधानमन्त्री ओलीले गरेको संसद विघटन बदर गरिदिएको थियो । सभामुख सापकोटा पनि प्रधानमन्त्रीको उक्त कदम लगायतमा प्रधानमन्त्रीका विरुद्ध रहेका छन् । यहीँ कारण उनीहरुको कुर्सी पछाडी धकेलिएको सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नेकपामा रिस उठ्दा अर्का अध्यक्ष प्रचण्डको कुर्सी हटाएर अरुकै पुर्याईदिने र फकाउनुपर्दा आफूसँगै राख्ने गरेका थिए ।
हाल रक्षामन्त्री पनि प्रधानमन्त्री स्वयम् रहेका छन् भने सेनाका संरक्षकको भूमिका राष्ट्रपति रहने व्यवस्था छ । कार्यक्रमको आयोजक समेत रहेको नेपाली सेनाले भने कोभिडका कारण दुरी कायम गर्नुपर्ने र पहिलो-(दोस्रो लहरको बीचको कुर्सि हटाइएकाले यस्तो भएको जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।