एमालेको खनाल–नेपाल समूहको राष्ट्रिय भेला जारी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफू समूहको मात्र बैठक बसेर अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी विघटन गर्ने, प्रदेश इन्चार्जहरु हेरफेर गर्ने, माओवादी केन्द्रबाट आएकाहरुलाई केन्द्रिय समिति सदस्य चयन गर्ने लगायतका गतिविधि गरेपछि बिच्किएको बरिष्ठ नेता तथा पूर्व अध्यक्षहरु झलनाथ खनाल र माधव कुमार नेपाल समूहको बुधबाबरदेखि राष्ट्रिय कार्यकर्ता भेला जारी छ ।

ओली समूहको गतिविधिका विरुद्ध वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया सुरु गरेको हो । त्यसका लागि बुधबार र बिहीबार राजधानीमा राष्ट्रिय भेला बोलाइएको छ । भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

सचिव भट्टराईले नेकपाको एकतालाई सर्वोच्च अदालतले गत फागुन २३ मा खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको एमालेलाई विभाजनतर्फ लाने भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध आफूहरू दृढतापूर्वक उभिएको बताए । ‘एमाले पूर्ववत् अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्ताबेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरूको स्वतः पुनःस्थापना हो,’ उनले भने, ‘यति हुँदाहुँदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेका छन् ।’

अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किर्एर एकताबद्ध हुन लागेको पार्टीमा गत फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै विभाजनतर्फ धकेलेको निष्कर्ष निकाल्दै खनाल–नेपाल समूहले त्यसको वस्तुस्थिति कार्यकर्तामाझ पुर्‍याउन भेला आयोजना गरेको हो ।
ओली निकटका नेताहरुले भने भेलामा सहभागी भए वा भेला गराए कारबाही गराउने चेतावनी दिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले मंगलबार भेलामा नजर राखिने बताएका छन् भने महासचिव इश्वर पोखरेलले भेला नगर्न नगराउन विज्ञप्तिमार्फत अनुरोध गर्दै त्यस्तो काम गरिए कारबाही हुने चेतावनी दिइसकेका छन् । एमाले सचिव समेत रहेका भट्टराईले भने आफूहरु कारबाहीका लागि तयार रहेको प्रतिक्रिया दिइसकेका छन् ।