Sunday, July 26, 2026
Home मुख्य समाचार गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो : प्रचण्ड

गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत प्रवृतिका खलनायकहरुलाई निकालेको जनाएका छन् । उनले विदेशी शक्तिहरुको आडमा नेपालमा संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको आरोप पनि लगाएका छन् ।

१५० औं लेनिन जयन्ती तथा ७१ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिडाँडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भए पनि एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको आरोप लगाए ।

‘हामीले पार्टी एकता गर्दा पनि कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौं । गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै थियौं । निकालेकै थियौं पार्टीबाट वैधानिक ढङ्गले । आधिकारिक रुपमा कानुन सम्मत तरिकाले नै गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो ।’ प्रचण्डले अगाडि थपे, ‘त्यहाँ हामी पराजित भएको होइन । पराजित उनीहरु भए, जल्ले प्रतिक्रान्तीको बाटो हिडे । जसको साथमा पार्टीको बहुमत थिएन । बहमुत मात्र होइन एक तिहाइ लिएर बसेकाहरु विदेशी शक्तिहरुको आडमा मात्रै उनीहरुले कानून मिच्ने, संविधान मिच्ने, सबै मूल्यमान्यता मिच्ने काम भएको छ ।’

उनले संसदीय दलको नेताबाट पनि अध्‍यक्ष केपी शर्मा ओलीलाई हटाएको स्मरण गरे । ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट पनि फालेकै हो । विलकुल वैधानिक र आधिकारिक रुपमा, कानुनी रुपमा’ प्रचण्डले थपे, ‘सबैले यो ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा रु कल्ले गर्‍यो यो, बिचित्रको नौटङ्की कताबाट आयो ?’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।