अझै पनि सोध्दैछन्, ‘चीनले कसरी नियन्त्रण गर्‍यो महामारी ?’

लक्ष्मी लम्साल/ब्लग

सामाजिक संजाल ट्वीटरमा अहिले ‘स्पेस’ भन्ने फिचर लोकप्रिय छ। चिने/नचिनेका मानिसहरू एकै ठाउँमा भेला भएर विचार आदानप्रदान गर्न पाइने भएकाले कतिपय विचारोत्तेक कुराहरू पनि सुन्न सकिन्छ। जब यो पंक्तिकारको प्रवेश हुन्छ, चिनजानका साथीहरूले ‘चाइनिज भाइरस’ भनेर स्वागत गर्छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

सन् २०१९ को अन्तिममा चीनको हुपेइ प्रान्तस्थित वुहान सहरमा कोरोना भाइरसको संक्रमण फेला परेको भनिएपनि केही वैज्ञानिकहरूले त्यसअघि नै पश्चिमा मुलुकमा कोरोना देखिए पनि पहिचान नभएको हुनसक्ने बताएका छन्, तर यो अझै निश्चित भइसकेको छैन। सन् २०२१ को जनवरी अन्तिम साता चीनमा उत्रिएको विश्व स्वास्थ्य संगठनको १७ सदस्सीय अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले १४ दिन लगाएर अनुसन्धान गरे बमोजिम भाइरसको श्रोत अझै खुलिनसकेको निष्कर्ष निकालेपछि यो अझै विचारधीन विषय हो। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै ‘चाइनिज भाइरस’ वा ‘कुङ्फू फ्लू’ भनिराख्नु त आत्मरति मात्रै हुन्छ।

चीनमा लामो समयदेखि कार्यरत भएका नाताले चिनियाँ अनुभव के कस्तो छ भनेर जिज्ञासा हुनु स्वाभाविकै हो। हाल चीनको ‘कोरोना काल’ अन्त्य भएर जनजीवन सामान्य छ। मानिसहरू भेला हुने पार्क वा सार्वजनिक स्थलमा व्यक्तिगत विवरण समेटिएको ‘क्यूआर कोड’ स्क्यान गर्ने बोर्ड त छ तर स्वयंसेवीहरू उति कडाइका साथ देखिँदैनन्। यसको सामान्य अर्थ हो अब चीनभित्र कोरोनाको गुञ्जायस छैन। मानिसहरूले एकद्वारबाट निस्किने र भित्रिने गर्दा ज्वरो लगायत व्यक्तिगत विवरण दर्ता गरेपछि पीछा गर्न सहज हुने ध्येयले यसअघि लगाइएका तारबारहरू पनि हटाइँदैछ। तथापि मानिसहरूमा अनुशासन भने दर्शनीय छ र अनुशासन नै महामारी मात्रै होइन, स्वच्छता निर्माणको एउटा कडी हो भन्न सकिन्छ। आइतबार बिदाको एक दिन सबवे उति भीड थिएन। कार्यालय समयमा पनि मानिसहरूले यात्रा पद्धतिमा परिवर्तन ल्याएका हुनसक्छन्। सिट अगाडि उभिएर मोबाइल चलाइरहेका एक अधवैंशेले मास्कभित्रै ख्याक्क ख्याक्क गरेपछि छेवैमा उभिएकी युवती मेरो नजिकतिर सरिन्। मुहारको रंग हेर्दा कुनै पश्चिमा जस्तो लाग्थ्यो तर जिउडाल हेर्दा होचो। पहिला पहिलाजस्तो चिनियाँहरू अचेल होचो हुन छाडे। नत्र पश्चिमाहरूले चिनियाँलाई बास्केटबल खेल्न नसक्ने भनेर हियाउँदैनथिए। अपवादलाई छोडेर चिनियाँ जिउडालप्रति पश्चिमाहरूको एकांगी सोचमा पनि परिवर्तन आइसकेको छ। गरिबी, अभाव, विशाल जनसंख्या र अदूरदर्शी नेतृत्वका कारण कुनै जमानामा पोषण अभावले ख्याउटे हुनुपर्ने बाध्यता चिनियाँमा रहेन।

सन् २०२० देखि चीनले गरिबी पचाएर इतिहासमा सीमित गर्दैछ। ‘खाना खेर नफाल’ भनेर राष्ट्रपति सी चिनफिङले बारम्बार भनिरहनुपर्ने धनीहरूको देश भएको छ। देश गरिब हुँदा छरछिमेकीले मात्रै होइन, कुनै टाढाको शक्तिले पनि हेप्ने रहेछ। ‘चीनलाई एउटा शक्ति नै नसोच्ने अमेरिकाको कुनै हैसियत छैन। २०, ३० वर्षअघि नै अमेरिकासँग त्यस्तो योग्यता थिएन किनकि यो चीनसँग ‘डिल’ गर्ने कुनै तरिका होइन। यदि अमेरिकाले चीनसँग डिल गर्न चाहन्छ भने परस्पर सम्मान र बराबर हैसियत देखाउनुपर्छ।’ गत मार्च १८ र १९ मा अमेरिकामा भएको उच्चस्तरीय रणनीतिक वार्तामा सीपीसी केन्द्रिय कमिटी अन्तर्गत पोलिटब्युरो सदस्य याङ् च्येछले अमेरिकी वार्ताकारलाई थर्काएको भिडियो अहिले भाइरल भएको छ। अझै पनि चिनियाँ शक्तिलाई नगन्ने अमेरिकी रवैयाप्रति यो तीखो झापड हान्नसक्ने आत्मविश्वास चिनियाँमा त्यतिकै उब्जिएको होइन। जसरी हुन्छ पहिला देश बनाउनुपर्छ र जनतामा भरोसा दिलाउनुपर्छ तब शासन गर्ने र विश्वमा डिल गर्ने ल्याकत पैदा हुन्छ भन्ने उदाहरण चीनले देखाएको छ।

महामारीका कारण चीनमाथि एकोहोरो दपेटिरहने पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प त हटे तर उनले जन्माएको विभेदको बिउ अझ विशेषगरी एसियाली मुलका नागरिकमाथिको हेपाहा प्रवृत्ति यथावत छ। त्यसैले चीनले आफूसहित एसियालीमा जन्माएको भरोसाको कारण भनेको चीनले देशलाई कोभिड मुक्त बनाउँदाको क्षमता हो। कोभिड महामारी विरुद्ध चीनको युद्ध खुल्ला किताब जस्तै छ। यो सामग्री तयार हुँदासम्म चीनभित्र स्थानीयस्तरमा सरेको कोरोना संक्रमण छैन। दैनिक प्रकाशित हुने रिपोर्टमा १०/१२ वटा केस ‘आयातित’ भनेर उल्लेख हुन्छ। बाहिरी मुलुकले कोरोना नियन्त्रण नगरेसम्म चीन पनि सुरक्षित हुन सक्दैन। चीनको पर्यटन बजार शून्य हुनेछ भने चिनियाँहरू बाहिर ननिस्किँदा विश्व पर्यटन क्षेत्र पनि धराशायी भइरहेको छ। कोभिड-१९ महामारीका बखत चिनियाँ नेता र जनताले आफूहरू अनुशासित भएको पुष्टि गरे तर लोकतन्त्रका हिमायती ठान्ने देशका नेता र जनताजस्तो गतिछाडा हुन चाहेनन्। अहिलेको ढुक्क स्थिति चीनमा यसैकारण बनेको हो। ‘जीवन रक्षा, पहिलो प्राथमिकता’ भन्दै चिनियाँ नेतृत्व प्रत्यक्ष खटिएपछि नै कोरोनाको वितण्डा साम्य भएको हो।

नेपालमा कोरोना नियन्त्रणका लागि एक वर्षभरिमा कतिसम्म निष्ठा देखाइयो भन्ने कुरा जगजाहेर नै छ। विश्वका वैज्ञानिक, विश्व स्वास्थ्य संगठन लगायत जानिफकार निकायको कुरा नसुनिकनै राजनीतिक संकट मन्साउने नाउँमा जनचेतनाले अभावग्रस्त नेताहरू सडकमा कार्यकर्ता र निमुखा जनता उतार्न लागिपरे। समाजका प्रवुद्ध वर्गले सामूहिक भोजभतेर गरे, सामूहिक तस्बिर खिचाएर सौन्दर्य अहंकार दर्शाए, नकारात्मक सन्देशहरू फैलाइरहे। प्रारम्भमा लकडाउनको केही समयभित्रै गरिखाने वर्गको विचल्ली भयो, तर मत्थर भएको महामारीलाई सबैतिरबाट अनदेखा गरियो। कोरोनाको दोश्रो भेरियन्ट भारतसम्म आएको कुनै नेपाली विज्ञले पत्याएनन् वा राज्यलाई सुनाउन सकेनन्। मृत्युका पहाडहरू थुप्रिएका दृश्यहरूले सामाजिक सञ्जाल भरिँदा रमिते बने तर सचेतनामा ढिलासुस्ती गरिरहे। यतिखेर नाम चलेका वा सामाजिक सञ्जालमा अर्थ/अनर्थका कुरा लेखेर नाम कमाएकाहरू, भीडभेला र मनोरञ्जनका पारखीहरू लेखिरहेका छन्, ‘कोभिड देखियो, मसँग जोडिएका सबै सतर्क रहनू’। पुनः घरमा आगलागी भइसकेपछि बल्ल कुवा खन्ने चटारो छ राज्यलाई। त्यसमाथि सत्ताको लुछाचुँडी, कमाउधन्दा, दुनो सोझ्याउनेजस्ता विषयमा जिम्मेवार निकायहरू रन्थनिरहेको यो जस्तो ‘सेक्सी’ परिदृष्य जो कोहीका लागि सुपाच्य छैन। अझ स्वास्थ्य प्रणालीले थेग्न नसक्ने चेतावनी दिएर पन्छिने अभिभावकीय संस्थाहरूको गैरजिम्मेवारी त भयंकर विपत्ति नै हो। खासमा चीनले कसरी महामारीलाई नियन्त्रणमा लियो भन्ने कुराहरू उठिरहँदा यसको उत्तर केही शब्दमा दिन मुस्किल पर्छ। चीनले महामारी नियन्त्रण गरेको ७८ दिन (जनवरी-२३ देखि अप्रिल-८) लकडाउन खुल्नु अगावै नै थियो। २ महिना, २ हप्ता र २ दिन लकडाउन सकिएर वुहान खुल्नु अगावै सर्वसाधारण आश्वस्त हुन थालिसकेका थिए। र अहिलेसम्म जिम्मेवार निकायको होसियारी, नेतृत्वको इमान्दारी र जनताको बुझाइले चीन सुरक्षति भएको छ। केही कुराहरू जुन नेपालीले पटक्कै सिकेनन् जुन महामारीमा अति वाञ्छनीय थियो। महामारी चलिरहँदा नेपालमा जस्तो चीनमा राजनीतिक संकट देखा परेन। कोरोनाको कहर बढ्दै जाँदा सी चिनफिङ नेतृत्वको कम्युनिष्ट पार्टी धरासायी हुन लागेको भनेर अत्याउने पश्चिमा विज्ञहरू अहिले के सोचिरहेका होलान्? चिनियाँ नेताहरूले महामारीमाथिको जिम्मेवारपूर्ण पकडलाई आजसम्म पनि जारी राखेका छन्, उनीहरूले कुनै पनि खेलवाड गरेनन्। महामारी फैलिएदेखि हालसम्म हरेक स्वयंसेवीहरू खटिइरहेका छन्, चनाखो भएरै पहरा दिइरहेका छन्, उनीहरू थाकेर लत्तो छोडेको देखिँदैन। सर्वसाधारणले मास्क लगाउन सिके र निष्ठापूर्वक अझै पनि लगाइरहेका छन्। जब की मास्क लगाउन नजान्ने समूह नेपालमा अझै पनि उस्तै विशाल छ।

चीनमा बागडोर सम्हालेका नेताहरू भाषण, जुलुस, रामरमिता जहाँ पनि उपलब्ध भएनन्, अवैज्ञानिक तर्क गरेर कोरोनामाथि मजाक गरेनन् तर उनीहरूले जनताको अफ्ठ्यारोलाई आफ्नै जस्तो सोच्न छोडेनन्। जनताको जीवन रक्षालाई इमान्दारीपूर्वक प्राथमिकता दिए र भएभरको साधनश्रोत लगाएर पहिला मृत्युबाट बचाए जसबाट सरकारप्रति चिनियाँ जनताको सन्तुष्टि दर ९० प्रतिशतभन्दा माथि नै रह्यो। चीनका सीमानाकामा लापर्वाही गरिएन। क्वारेन्टाइन र आइसोलेसनका प्रोटोकलहरू आजपर्यन्त यथावत् छन्। कोरोनासँग ‘लिभिङ टुगेदर’को रसिलो नारा अघि सार्दै फुक्काफाल हवाइ यातायात चीनले खोलेन। चीनमा उत्रिने कुनै पनि विदेशी वा चिनियाँले तीन साता लामो होटल क्वारेन्टाइन र त्यसपछि होम आइसोलेसन लगायतका चरण पार गरेपछि मात्रै चीनभित्र यताउति गर्न पाउने नियम कायम छ। साधन स्रोत सम्पन्न हुँदा पनि चीन निकै गम्भीर देखियो जब कि मागेरै काम चलाउनुपर्ने पिछडिएका मुलुकहरू भने तथाकथित स्वतन्त्रता र शासकीय अक्षमताकाबीच सिन्को भाँच्न भन्दा पनि शब्दवाण खेलाउनमै मस्त रहे। कान्तिपुरबाट साभार