मोरङ — जिल्लामा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ३, नोबेल अस्पतालमा ५, विराट मेडिकल शिक्षण अस्पतालमा २, न्यूरो अस्पतालमा १ र होम आइसोलेसनमा ३ जनाको मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र र नोबेल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रका संयोजक बैजना साहका अनुसार विराटनगर ३ का ५१ वर्षीय, इटहरी ७ का ४१ वर्षीय र विराटनगर १२ का ८० वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै, नोबेल अस्पतालमा उपचारको क्रममा झापाको भद्रपुर ४ का ४८ वर्षीय पुरुष, सुनसरीको इनरुवाका ५७ वर्षीय वृद्ध, सप्तरीकी ५५ वर्षीया महिला, विराटनगर ९ की ८० वर्षीया वृद्धा र विराटनगर १० का ४६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । विराट मेडिकल शिक्षण अस्पतालका कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले विराटनगर ९ का ५२ वर्षीय पुरुष र सिरहाको लहान १ का ८० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको बताए । न्यूरो अस्पतालमा विराटनगर ६ का ३९ वर्षीय पुरुषको बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका भारत श्रेष्ठले बताए ।

यस्तै, होम आइसोलेसनमा विराटनगर १३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरको नगर प्रहरीका प्रहरी निरीक्षक राजन पौडेलले बताए । सुन्दरहरैंचा नगरपालिका १२ का ७९ वर्षीय वृद्धको होम आइसोलेसनमा मृत्यु भएको नगर प्रमुख शिवप्रसाद ढकालले बताए । जहदा गाउँपालिका-७ का ६० वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको गाउँपालिका अध्यक्ष कैलाश मण्डलले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।