आज अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना , सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको हो ।

चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम आगामी शनिबार दिउँसोसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित कतै हल्का र कतै मध्यम वर्षा भईरहेको जानकारी दिएको छ । यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला