सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड–१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेका छन् । साथै उनले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

उनले बिहीबार वक्तव्यमार्फत कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको उल्लेख गर्दै यही जेठ ६ गते पनि आफ्नै नेतृत्वमा कोभिड–१९ को महामारीबाट जनतालाई बचाउन प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापन–पत्र बुझाएको समेत स्मरण गराएका छन् । “कांग्रेस आफै पनि कोभिड–१९ को रोकथाम र उपचारमा जनताका पीडालाई कम गर्न सक्रियताका साथ लागि परेको छ । तर देशको साधन स्रोत र संयन्त्रको जिम्मेवारीमा रहेको सरकारले गर्ने सम्पूर्ण काम काँग्रेसले गर्न सक्ने कुरा भएन । सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहनुपर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पीरमर्का गौण हुन पुगेका छन्” उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

देशैभर अस्पताल पहुँचको सिमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण सङ्क्रमण र मृत्युदर कम हुन नसकेको उल्लेख गर्दै सभापति देउवाले सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको सङ्क्रमण रोक्न फेरी पनि सरकारले निषेधाज्ञाको साहारा लिएको आरोप समेत लगाएका छन् । सङ्क्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनु पर्नेमा निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम भएको उनको टिप्पणी छ ।