भदौ ३० । आइतबार झण्डै ७ घण्टा राजनीतिक दलहरु सहमति गर्न भन्दै छलफलमा जुटेपनि कुनै सहमति भने हुन सकेन ।

शितल निवासमा सर्वदलीय छलफल हुनु अगाडी उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी मोर्चाबीच पनि छुट्टै छलफल भएको थियो । त्यसपछि भने राष्ट्रपति डा. रामवरण यादवसहित सर्वदलीय छलफल सुरु भएको थियो ।

समिति र मोर्चाबीचको छलफलमा राजनीतिक समितिले माओवादीले निर्वाचनमा प्रतिवद्धता जनाए गोलमेच गर्न सकिने तर गोलमेचमा सरकार परिवर्तनको विषयमा भने छलफल गर्न नसकिने माग अघि सारेको थियो । त्यस्तै मोर्चा निर्वाचनमा सहभागी भए मंसिर १५/२० मा मिति सार्न पनि तयार रहेको प्रस्ताव राखेको थियो ।

राजनीतिक समिति गोलमेच गर्न तयार रहेको र गोलमेचमा संविधानका अन्तरवस्तुका विषयमा पनि छलफल गर्न तयार रहेकोलाई मोर्चाले भने सकरात्मक भनेको छ ।
शितल निवासमा ३३ दलीय कार्यदलका संयोजक देव गुरुङले समिति गोलमेच गर्न र गोलमेचमा संविधानका अन्तरवस्तुमा छलफल गर्न तयार रहनु सकरात्मक भएपनि सरकार भने ३८ (१) अनुसार नै बन्नुपर्ने बताए । निर्वाचनमा सहभागी हुन माओवादी लगायत मोर्चालाई कम्तिमा पनि साढे तीन महिना समय लाग्ने भएको भन्दै मंसिरमै हुने निर्वाचनमा जान नसकिने उनको भनाई छ ।

शितल निवासमा आइतबार १ बजपछि झण्डै ८ बजेसम्म करिब ८ घण्टा असन्तुष्ट नेकपा–माओवादी नेतृत्वले पेस गरेको ४ बुँदे सहमतिमा नजुटेपछि सोमबार पुनः बैठक बसेर टुंगो लगाइने नेताहरुले बताएका छन् ।

शुक्रबार र आइतबार शितल निवासमा सर्वदलीय बैठक बसेपनि सोमबार भने समिति र मोर्चाबीच मात्रै बैठक बसेर सहमति जुटाइने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि, शुक्रबार राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा–माओवादीले यसअघिको १८ बुँदे आफ्नो मागमा लकचता अपनाउँदै चार बुँदे माग प्रस्तुत गरेको थियो । जसमा निर्वाचन चैत्रमा सारिनुपर्ने, राष्ट्रिय सरकार बन्नुपर्ने तर प्रधानन्यायाधीशबाट राजीनामा दिए खिलराज रेग्मीलाई नै मान्न सकिने, गोलमेच सम्मेलन गरिनुपर्ने लगायत प्रस्ताव अघि सारेको थियो ।
राजनीतिक दलहरुबीच शुक्रबार कुनै पनि सहमति जुट्न नसकेपछि शनिबार आन्तरिक गृहकार्य गर्ने र आइतबार पुनः सर्वदलीय बैठक बसेर सहमति खोज्ने सहमति भएको थियो । शनिबार राजनीतिक समितिको बैठकले भने माओवादीले पेस गरेको बुँदाहरुमा चुनाव सार्ने र सरकार फेर्ने विषय ठाडै अस्वीकार गरेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।