एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत वैद्य नेतृत्वको नेकपा–माओवादीले पुरानो नीति बदलेर शर्तसहित चुनावमा भाग लिने नीति लिएकाले त्यसलाई सबैले स्वागत गर्नुपर्ने बताए ।
तर, साँझ नपर्दै यी सबै बोलीहरुले कोल्टे फेरे । शनिबार साँझ नयाँ बानेश्वरमा बसेको राजनीतिक समितिले मंसिर चारको चुनाव सार्न नसकिने निष्कर्ष निकालेका हुन् ।
शनिबार बिहान एमाओवादी नेता कृष्ण महराले वैद्य माओवादीलाई उहाँहरु चुनाव विरोधी नभएको र उहाँहरुले चुनावमा जाने प्रक्रिया मात्रै गलत भएको भन्नुभएको भनेर बताएका थिए ।
शनिबार साँझ नै एमाओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा सहभागी समितिको बैठकले घोषित चुनाव सार्ने र सरकार परिवर्तनको प्रस्ताव ठाडै अस्वीकार गरेका हुन् ।
बिहानको बोली बेलुकीसम्म टिक्न नसकेपछि आज शितल निवासमा हुने सर्वदलीय बैठक अनिश्चित बन्ने देखिएको छ ।
३३ दलीय मोर्चाका कार्यदल संयोजक देव गुरुङले आफ्नो बटमलाइन पेस गरिसकेकाले त्यसभन्दा अलिकति पनि तल झर्न नसकिने बताए । परिवतर्न नचाहने र विदेशी शक्तिको निर्देशनमा सहमति भाडेर देशलाई द्धन्द्धमा फसाउने षड्यन्त्र भईरहेको उनको भनाई छ ।