काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज कम्युनिस्ट पार्टीका शीर्ष नेताले एकै मञ्चबाट सम्बोधन गर्दै छन्।

विभिन्न सात कम्युनिष्ट नेतालाई निमन्त्रणा गरिएको उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने निमन्त्रणा गरिएको छैन। पुष्पलाल स्मृति दिवसका उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रले आज दिउँसो काठमाडौंमा आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा ओलीबाहेक कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई वक्ताका रूपमा बोलाइएको हो।

केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा दिउँसो साढे १२ बजे कार्यक्रम सुरु गरिने छ। त्यस क्रममा ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रम राखिने भएको हो।

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा ९क्रान्तिकारी० माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा महासचिव विप्लवले प्रवचन दिनेछन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेता अष्टलक्ष्मी शाक्यले पनि प्रवचन दिनेछन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।