खोप लगाउन नआएपछि अमेरिकामा कोभिड विरुद्धको खोप लगाउनेलाई सय डलर दिने घोषणा

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन त्यहाँका नागरिकले रुचाएका छैनन् । नेपालमा खोप लगाउन मारामारको अवस्था रहे पनि अमेरिकामा भने खोप लगाउनेलाई विभिन्न प्याकेज नै घोषणा हुन थालेको छ । यसरी खोप लगाउनेलाई पुरस्कार दिँदा समेत त्यहाँका नागरिकले खोपप्रति रुची नदेखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् ।

अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएपनि खोपमा भने विश्वास नगरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा। एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।