डेढ महिनाअघि श्रीमान् बालकृष्णको मृत्यु भएको पीडा सेलाउन नपाउँदै छोरा बेपत्ता भएको खबर उनलाई घाउमा नुन चुक भयो । छोराको केही खबर पाइन्छ कि भन्दै यही साता आइसिआरसीको कार्यालय चितवन आइपुगेकी जमुनाले भइन । “त्यो दिनदेखि आँखा ओभाएको छैन, घरीघरी भक्कानिन्छु, छोरो सम्झन्छु , ठाउँठाउँ भौँतारिन्छु तर छोराको अवस्था केही थाहा हुन्न ।”
भएको अर्को छोरासमेत भारतमा बेपत्ता भएपछि उनलाई अहिले पनि खपिनसक्नु छ । बेपत्ताको खबर सुन्नेवित्तिकै उनको आँखाबाट आँसु तरर झर्न थाल्छ ।
यस्तै नवलपरासी कावासोतीमा बस्दै आएकी बालकुमारी केसीका श्रीमान् वीरेन्द्र बेपत्ता भएको नौ वर्ष कटेको छ । विसं २०६१ वैशाख २८ गते राजधानीस्थित कीर्तिपुरबाट उनलाई बेपत्ता पारियो ।
अध्यापनको सिलसिलामा कीर्तिपुर पुगेका उनको सेनाले बेपत्ता पारेको आरोप बालकुमारीको छ । सञ्चारमाध्यमबाट बेपत्ता पारिएको खबर पाएकी उनको पनि अझै आँखामा आँसु रोकिएको छैन । जीवनसाथी नै खोसिएपछि उनलाई पर्नु पिर परेको छ ।
“ बेपत्ता भएका मानिस फर्किएको खबर पाएका छौँ, मेरो श्रीमान् पनि कुनै बेला फर्कनुहुन्छ कि भन्ने आशा लाग्छ, फेरि एक मन निराशाले पनि मन भरिन्छ ।” यस्तै यस्तै सम्झँदा बेलाबेलामा आँखा रसाइरहन्छन् उनको । सरकारले मरेको या जिउँदो छ भनिदिए पनि एक सुर हुन्थ्यो, तर केही खबर नपाउँदा आशैआशमा जीवन बर्बाद भइरहेको उहाँले बताउनुभयो ।
यस्तै अर्का बेपत्ता परिवारका सदस्य तोयानाथ ढकालले एकातर्फ आफन्त बेपत्ता भएकाले पीडा बोकिरहेका आफूहरुलाई प्रशासनिक झन्झटले ठूलो समस्या पार्ने गरेको बताउनुभयो । उहाँले कतिपयले प्रशासनिक समस्याकै कारण अहिलेसम्म राहतसमेत पाउन नसकेको बताउनुभयो ।
उनीहरुले अझै पनि परिवार फर्कने आशा बाँकी नै रहेको भन्दै आफ्नो समस्यालाई गम्भीररुपमा लिन आग्रह गरेका छन् ।
चितवन जिरौनाका तारा गोलेकी श्रीमती अनिता गोलेको पीडा पनि फरक छैन । रातदिन पिर र चिन्तामा बित्छ उनको । विसं २०५९ भदौमा घरबाटै सेनाले केही बुझ्नुछ भनेर तारालाई लगिएको अहिलेसम्म नफर्किएको उनको दुखेसो छ । न सास न लास कुनै खबर छैन, उनले भनिन् ।
चितवनकै आइतबहादुर विकलाई ०५९ साल भदौ २ गते गीतानगरबाट र आनन्द भुसाललाई २०५९ साल वैशाखमा भरतपुरबाट बेपत्ता पारियो । उनीहरुको पनि अहिलेसम्म कुनै अत्तोपत्तो छैन । जसका कारण पीडितहरुको पीडा बेलाबेलामा बाहिर पोखिने गरेको छ ।
आफूहरुका समस्यामा सरकारले गम्भीर रुपमा हेर्नुपर्ने उनीहरुको माग छ । कमसेकम अवस्था मात्रै जानकारी दिए पनि अन्तिम संस्कार त गर्न पाइने थियो रु उनीहरुको सामूहिक भनाइ छ । भर्खरै सकिएको ३१ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवस पनि बेपत्ता परिवारले विगतझैँ आँसु चुहाएर मनाएका छन् । उनीहरुलाई सरकारले प्रमाण पुगेकालाई रु तीन लाखसम्म राहत दिए पनि अहिलेसम्म केही हुन सकेको छैन ।
पाँच जिल्लाका मात्रै ८७ बेपत्ता
चितवनलगायत तराईका पाँच जिल्लाबाट मात्रै ८७ जना बेपत्ता पारिएकाको सूची रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवन र आइसी आरसीले यसरी पछिल्लो सूची सार्वजनिक गरेको हो । चितवन, नवलपरासी, मकवानपुर, कपिलवस्तु र रुपन्देहीका ८७ जना बेपत्ता भएको सार्वजनिक सूचीमा उल्लेख छ ।
जसमध्ये चितवनबाट ३३, मकवानपुरबाट नौ, नवलपरासीबाट १८ र रुपन्देहीबाट सातजना बेपत्ता पारिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले जिल्लाका तीन जनाले अझै राहत पाउन नसकेको बताए ।
नेपालमा कुल एक हजार ३६० जना बेपत्ता पारिएका छन् । त्यसमध्ये ९५१ जनाको अवस्था अझै यकिन नभएको न्यौपानेको भनाइ छ । ४०९ जना मारिएको भन्ने जानकारी आएको तथ्याङ्कमा उल्लेख छ ।
तीमध्ये बढी राज्य पक्षबाट बेपत्ता पारिएका छन् । कतिपयले केही राहत पाए पनि कतिपयले अझै राहत पाउन नसकेको आइसिआरसीको तथ्याङ्कमा उल्लेख छ ।
कानुनमा के छ
अन्तर्राष्ट्रिय मानवीय कानुनको दृष्टिमा २०५२ सालदेखि २०६३ मङ्सिर ५ गतेसम्म चलेको सङ्घर्षलाई आन्तरिक सङ्घर्ष मानिएको छ । यस किसिमको द्वन्द्वमा १२ अगष्ट १९४९ को जेनेभा महासन्धि धारा ३ लागू हुनेछ । यसमा परिवारलाई आफ्नो नातेदार कहाँ र कुन अवस्थामा छन् भन्ने जान्न पाउने अधिकार छ ।
परिस्थिति अनुकूल भए द्वन्द्व भइसकेपछि मृतकको लास खोज्न, लासलाई नष्ट हुनबाट बचाउन तथा सम्मानपूर्वक दाहसंस्कार गर्न अविलम्ब सम्भव भएसम्मका उपाय अपनाउनुपर्ने उल्लेख छ । यसमा दाहसंस्कार गर्नुभन्दा अघि उपलब्ध सबै अभिलेख तयार गर्ने तथा चिहानमा चिह्न लगाउने जस्ता कुरा पर्दछन् । तर यसतर्फ सरकार गम्भीर भएको देखिएको छैन ।