भदौ २७ । चुनावको विरोधमा रहेका ३३ दलीय मोर्चाले बिहीबार उपत्यका र पूर्वका १४ जिल्ला बन्द गराएको छ ।

संवैधानिक र राजनीतिक मूल्य मान्यतालाई चुनौती दिँदै निर्वाचनको कार्य अघि बढाएको तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दको आह्वान गरिएको ३३ दलीय मोर्चाका कार्यदल संयोजक देव गुरुङले जानकारी दिए ।

बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म बन्दको आह्वान गरिएको थियो । सो समयसम्म सवारी साधन, उद्योग, कलकारखाना तथा शिक्षण संस्थाह ठप्प रहे ।

आफ्ना मागहरु वेवास्ता गरिएपछि गोलमेच सम्मेलनको माग र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको आह्वानमा गरिएको बन्दमा सर्वसाधरणले समेत सहयोग गरेको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

यसैबीच, राजधानीमा युवाहरुले बन्दलाई बन्द गरौ भन्दै बिहीबार नै विरोध समेत जनाएका छन् । बन्द सँधैका लागि बन्द गरौँ भन्दै युवाहरुले माइतीघरबाट सुन्धारासम्म नारा जुलुस गरेका छन् । बन्दको विरोधमा जुलुस निस्किएपछि रत्नपार्कबाट ३३ दलिय मोर्चाको टोलि पनि सुन्धारातिर बढेको थियो । सो क्रममा सुन्धारामा उनीहरुको जम्काभेट हुने भएपछि दुवै पक्षलाई प्रहरीले रोकेको थियो । सो बेला सुन्धारामा दुवै पक्षले नाराबाजी गरेका थिए ।

यता, बिहीबार राजधानी र पूर्व बन्दको आह्वान गरेको ३३ दलीय मोर्चाले आज सुदुरपश्चिमका २० जिल्ला बन्दको घोषणा गरेको छ । त्यस्तै, आइतबार पूर्वी तराईका नौँ जिल्ला र मध्य पहाडका १० जिल्ला तथा सोमबार मध्य पश्चिमका २० जिल्ला बन्दको घोषणा छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।