भदौ १४  । नेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरी रत्नपार्कस्थित शान्ति बाटिकमा अनशन बस्न थालेको बिहीबार सत्रौँ दिन भएको छ ।

तर, उनको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य छ ।

बिहीबार बेलुकी गिरीको अनशनस्थलमा पुग्दा उनी पल्टिरहेकी थिइन् भने अगाडि राखिएका कुर्सीमा तीन–चारजना कार्यकर्ता उँघिरहेका थिए । पत्रकार आएको थाहा पाउनासाथ गिरी चल्मलाउँदै उठेर बसिन् । उनलाई देख्दा १७ दिनदेखि केही नखाएको ज्यान हो भनेर पत्याउन मुस्किल पथ्र्यो ।

यत्तिका दिनसम्म भोकै बस्दा पनि तपाईं त तगडा हुनुहुँदो रहेछ ? के हो यसको रहस्य र ? ‘मह’ नहिच्किचाई उनले जवाफ दिइन्, ‘म बिहान–बिहान पानीमा हालेर मह खान्छु । त्यसैको कमाल हो ।’ नयाँ  पत्रिकामा खबर छ ।

आमरण अनशनमा पनि मह खान मिल्छ ? ‘यो आमरण अनशन होइन,’ उनले पछाडि रहेको ब्यानर देखाउँदै भनिन्, ‘अनिश्चितकालीन अनशन हो । यसमा मह खान मिल्छ ।’

बिहीबार नै चिकित्सकको टोली आएर उनको स्वास्थ्य परीक्षण गरेको छ । ब्लडप्रेसर केही बढेकोबाहेक अरू सबै सामान्य देखिएको गिरीले जानकारी दिइन् । ‘कहिलेकाहीँ अलिअलि रिँगटा लाग्छ, अरू सामान्य छ,’ उनले भनिन् ।

अनशनको नौ–दश दिनपछि भोकले पेट दुखेर खपिनसक्नुभएको र त्यसपछि बेहोस भएर ढल्नुभन्दा मह खाएर आफ्नो ‘हेल्थ मेन्टेन’ गर्न ठीक लागेको उनी बताउँछिन् । महले आफ्नो मस्तिष्क, हृदय र मिर्गौला स्वस्थ राख्न सहयोग गरेको पनि गिरीले उल्लेख गरिन् । यसका साथै नियमित योगाले पनि आफूलाई सहयोग पुगेको उनको अनुभव छ ।

गिरीको अनशनप्रति अहिलेसम्म कसैले खासै चासो दिएका छैनन् । सरकारले वार्ताका लागि बुधबार एउटा पत्र पठाएको थियो, तर अनशन तोडेर मात्रै वार्तामा बस्नुपर्ने सर्त राखिएको छ । त्यस्तो सर्त आफूलाई मञ्जुर नभएको गिरी बताउँछिन् । सरकारसँग वार्ता गर्न गिरीले रामवरण यादवको नेतृत्वमा सात सदस्यीय वार्ता समिति बनाए पनि त्यही सर्तका कारण वार्ता हुन सकेको छैन । अनशन जारी राखेरै वार्ता गर्नुपर्ने गिरीको अडान छ ।

  •  के छन् गिरीका माग 

मधेसमा वृद्धि भएको जनसंख्याको अनुपातमा क्षेत्र निर्धारण हुनुपर्ने, मतदाता सूची अद्यावधिक गर्न समय थप्नुपर्ने, सिरहाको सारश्वरमा भएको दंगाबाट विस्थापितलाई पुनस्र्थापना गर्नुपर्ने मागलाई गिरीले प्रमुख रूपमा उठाएकी छिन् । यी तीन माग पूरा नभएसम्म अनशन नतोड्ने उनको अडान छ । यसबाहेक २७ वटा माग लेखिएको पर्चा पनि अनशनस्थलमा छरिएका छन् । जसमा विदेशमा बस्ने ५० लाख नागरिकका लागि संविधानसभा चुनावमा अनलाइन भोटिङको व्यवस्था गर्नुपर्नेदेखि स्थानीय निकायको चुनाव तत्कालै गराइनुपर्नेसम्म छन् ।

 यस्ता माग पनि छन्

  •  हिन्दी भाषालाई राष्ट्रिय भाषा र धोतीकुर्तालाई राष्ट्रिय पोसाकको दर्जा दिनुपर्ने
  • २० हजार किलोमिटरको हुलाकी सडकको नाम गजेन्द्रनारायण सिंह जनमार्ग राखिनुपर्छ 
  •   राजस्व अनुसन्धान विभागलाई अनुसन्धानका क्रममा कर छलेको आशंकालागेको  व्यक्तिलेहुलहुज्जत गरेमा वा भाग्ने प्रयास गरेमा गोली हान्नसक्ने अधिकार दिइएको आदेश खारेज गर्नुपर्छ
  •  पिसिएफ शिक्षकहरूको तलब मासिक आठ हजार रुपैयाँ पुर्‍याइनुपर्छ र बालविकास सहजकर्ताको तलब पनि बढाइनुपर्छ  
  • कृषिबाली उत्पादनका लागि दिइने ऋणको ब्याजदर ५० प्रतिशतका दरले घटाइनुपर्छ 
  • मंसिर ४ गतेको संविधानसभा चुनाव मौसमका कारण उपयुक्त नभएकाले सार्नुपर्छ
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।