भदौ ८ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफूहरु इमान्दार भएर प्रस्तुत हुँदा समेत चार दल वार्ताबाट भागेको बताएका छन् ।
निर्णायक भनिएको चार दल र नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चाबीच आज भएको वार्ता विफल भएसँगै पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले ३३ दलिय मोर्चा इमान्दार र लचकता साथ प्रस्तुत हुँदा समेत चार दल वार्ताबाट भागेर धोका दिएको बताए ।
‘चार दल पहिलो चरणकै वार्तामा भाग्न खोजे पनि हामी इमान्दार हुँदा भाग्न सक्ने बाटो भएन त्यसपछि गोलमेच सम्मेलन गर्नेमा सबै सहमत भएका थियौँ’ पत्रकार सम्मेलनमा उनले भने- ‘तर उहाँहरुले गोलमेच सभामार्फत निकास नचाहेकाले भाग्नु भएको छ ।’
पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले अस्ति गोलमेचमा सहमत छौँ भन्ने तर आज गोलमेच गर्न सक्दिनौँ भन्नुले उनीहरुको नियम नै गोलमेचबाट समाधान नचाहनु भएको देखिएको भन्दै यसमा बाह्य शक्तिको हात रहेको आशंका समेत गरे ।
यसअघि दुवै पक्ष गोलमेच सभामा सहमत भएको र दुवै पक्षले अभ्यास गरेर कसरी गर्ने भन्नेबारे टुंगो लगाउने सहमति भएको जनाउँदै आजको बैठकमा भने ४ दलले कुरा नै नसुनी सरकार परिवर्तन र मंसिर ४ को निर्वाचन स्थगित गर्नै नसक्ने अडान पेस गरेको बताए ।
त्यसमा पनि ३३ दल लचक भएर लौ न भनेर यी विषय पनि गोलमेचबाट टुंग्याउ भन्दा त्यो पनि नमानेपछि भने वार्ता असफल भएको उनको भनाई छ ।
अस्ति गोलमेच गर्न तयार भएकाहरु आज सक्दिनौँ भन्नु राजनीतिक बेइमानी भएको भन्दै उनले आफूहरु अझै पनि वार्ताबाट निकास निकाल्न तयार रहेको समेत बताए ।
‘वार्ताका लागि अझै हामी तयार छौँ उहाँहरुले सोच्नु भयो भने हामी अझै छलफल गर्न तयार छौँ ‘ उनले भने- ‘तर त्यसो नभए चाँडै आन्दोलन कार्यक्रम घोषणा गर्ने छौँ र सशक्त निर्वाचन बहिस्कार गर्नेछौँ ।’
यसैबीच, वार्ता असफल भएपछि ३३ दलिय मोर्चाले पनि यसै विषयमा प्रेस विज्ञप्ति जारी गरेको छ । जुन यस्तो छः
मुलुकको विद्यमान संक्रमणकालीन अवधिमा राष्ट्रिय समस्याहरुको समाधानका लागि राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमतिको विकल्प छैन । त्यसको लागि गोलमेच सम्मेलन गर्ने, नयाँ संविधान निर्माणको मार्गचित्र निश्चित गरी संविधानसभाको निर्वाचन गनुपर्ने लगायत १८ बुँदे प्रस्ताव लिएर केही दिन अगाडिदेखि ४ दलीय संयन्त्रसँग वार्ताको प्रक्रिया शुरु भएको थियो । दुई दिन अगाडि विद्यमान सबै राजनीतिक दलहरुको बीचमा गोलमेच सभा गर्ने भनि सैद्धान्तिक रुपमा सहमति पनि भएको थियो । तर आज एक्कासी ४ दलका नेताहरुले गोलमेच सभा गर्ने सहमतिलाई उल्लङ्घन गर्नुका साथै वार्तालाई निरन्तरता दिनसम्म पनि तयार भएनन् । अतः ४ दलका नेताहरुको यसप्रकारको सहमति र वार्ता विरोधी निर्णयप्रति हामी दुःख एवम् खेद प्रकट गर्दछौं । सहमति हुन नदिनुमा कतै दलहरुबीच सहमति नचाहने बाह्य शक्ति केन्द्रहरुको प्रभाव त होइन ? शंका छ तैपनि फेरि गम्भीर रुपले उक्त निर्णयमाथि पुनर्विचार गर्न ४ दलका नेताहरुसँग आग्रह गर्दछौं । अन्यथा यही यथास्थितिमा गरिने निर्वाचनको विरोधमा शसक्त आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्न वाध्य हुने कुरा जानकारी गराउन चाहन्छौं । यसबाट उत्पन्न हुनसक्ने कुनैपनि दुष्परिणामको जवाफदेही स्वयम् ४ दलका शीर्ष नेताहरु हुनेछन् ।
२०७० भदौ ८
३३ दलीय राजनीतिक मोर्चा