भदौ ८ । पर्यटक भिसामा नेपाल प्रवेश गरेर काम गर्ने विदेसी नागरिकलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
अध्यागमन विभागले गैह्र कानुनी रुपमा नेपालमा बस्दै आएका ठूला मुलकका नागरिकलाई पनि नियन्त्रणमा लिएर जरिवाना गरी फिर्ता पठाएको छ ।
पछिल्लो पटक अमेरिका, बेलायत, चीनका नागरिकलाई नियन्त्रणमा लिएर उनीहरुको मुलुक फिर्ता गरेको छ । विभागले २०१३ मा ६८ जनालाई कारबाही गरेर उनीहरुकै देशमा फिर्ता पठाएको जनाएको छ ।
विभागका निर्देशक शम्भु घिमिरेका अनुसार अमेरिकन नागरिक चाल्स भिसेन्ट जोन्सन बनेपा स्थित सिरमेमारियल अस्पतालमा कार्यरत थिए । त्यस्तै बेलायती नागरिक इयान बेल्जियन सांग्रिला क्यासिनोका म्यानेजर र चिनिया नागरिक चाङकाई युन ठमेलको ज्याठामा चाइना सेन लिन नामक अस्पताल सञ्चालन गरिरहेको अवस्थामा विभागको टोलीले नियन्त्रणमा लिएर कारबाही गरेको हो । गैह्रकानुनी काम गरेको भन्दै विभागले जरिवाना लिएर उनीहरुकै देशमा फिर्ता पठाएको हो ।
सन २००७ मा पर्यटक भिसामा आएका युनले ज्याठामा पाँच बर्षका लागि घर भाडामा लिएर अस्पताल सञ्चालन गरेको पाइएको थियो । माथिल्लो तलामा अस्पताल र भुइतलामा औषधि पसल सञ्चालन गरेका थिए । विभागले उनलाई मंगलबार तातोपानी नाका हुदै उनको मुलुक फिर्ता पठाएको हो । विभागको साउन ३१ को बैठकले नेपालबाट फिर्ता पठाउने निर्णय गरेको थियो ।
अध्यागमन ऐन अनुसार पर्यटक भिसामा आएका विदेसीले अन्य काम गर्न प्रतिबन्ध लगाएको छ । तर, नेपालमा खुलेका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थामा पर्यटक भिसामा आएका विदेसी नागरिकले काम गरिरहेका छन् । कतिपयले व्यवसाय सञ्चालन गरी बसेका छन् । विगतमा यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरी उन्मुक्ति दिने गरेको थियो । पछिल्लो पटक यस्ता व्यक्तिलाई विभागले निगरानी थालेको घिमिरेले बताए । ‘नेपाल प्रवेश गरेपछि यसअघि हाम्रो सिस्टमले देखाउदैनथ्यो,’उनले भने,’तर, अब हामी यस्ता व्यक्तिको लगत तयार गरी अनुगमन गरेपछि सबैलाई कारबाहीको दायरामा ल्याउछौ ।’
गृह मन्त्रालयका अनुसार गैह्रकानुनी रुपमा पर्यटक भएर छिर्ने अनि नेपालमा व्यापार, जागिर गरेर बस्नेमा करिब १२ हजार विदेश छन् ।
पछिल्लो पटक विभागले गरेको अनुसन्धानले पर्यटक भिसामा आउने विदेशीहरु ग्रामिण क्षेत्रमा स्वंसेवक, केही धर्मको प्रचार प्रसारमा, व्यापार र नेपाली युवतीसंग विवाह गरेर बस्ने पनि छन् । कतिपयले अस्पताल सञ्चालन गरेर बसेका छन् ।
यस्ता व्यक्तिको निगरानी गर्न विभागको अनुगमन टोली पर्यटकको चहलपहल हुने क्षेत्रमा पुगेर पासपोर्ट ‘चेक’ गरेर अबैध काम गरेको पाइए नियन्त्रणमा लिने गरेको विभागका महानिर्देशक शरदचन्द्र पौडेलले बताएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
Comments






