‘मलाई आफ्ना सन्तानलाई छुन पनि दिइएन’

बुद्धशरण शाही/काठमाडौँ
भदौ ८ । राजधानीमै बोक्सीको आरोपमा एक महिलालाई चर्को चरम यातनासहित घरभित्रै १४ वर्ष नजरबन्द राखिएको विषय कसरी भएको थियो भनेर सार्वजनिक गरिएको छ ।
अन्तरपार्टी महिला सञ्जालले राजधानीमा पत्रकार सम्मेलन गरेर उनीमाथि भएको हिंसाबारे प्रष्टाएको छ ।
काठमाडौँको लगनमा जन्मिएकी प्रमिला शाक्यको विवाह २०४९ माघ २५ मा स्वयम्भूस्थित विश्वरत्न शाक्यसँग भएको थियो । २ छोरा र एक छोरीकी आमा प्रमिलालाई पति विश्वरत्न र उनका बहिनीहरु समेत मिलेर १४ वर्षदेखि बोक्सीको आरोपमा चरम यातना तथा पशु सरह थुनेर राखेको र हालै मात्र विभिन्न सामाजिक संघ संस्था तथा माइती पक्षका परिवारले उद्धार गरी विश्वरत्न शाक्यलगायतलाई सजायको माग गर्दै उजुरी दिइएपछि घटना बाहिर आएको थियो ।
सोही बारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पीडित प्रमिलाले सुरुका दिनमा श्रीमान् तथा परिवारबाट माया पाएपनि पहिलो सन्तानका रुपमा छोराको जन्म भएसँगै आफूमाथि यातना सुरु भएको बताइन् ।
पहिलो छोरो सुस्त मनस्थितिको भएपछि उनलाई बोक्सीको आरोप लगाइएको थियो । परिवारका सदस्यहरुले तेरो हजुरआमा बोक्सी भएकाले तँलाई पनि बोक्सी विद्या सिकाएर छोरालाई यस्तो भएको भन्दै उनीमाथि यातना र नजरबन्द सुरु भएको थियो ।
यातनाका बेला प्रमिलाको च्यातिएको कपडा देखाइँदै ।
पहिलो छोराको जन्म हुँदा माइतीमा सुत्केरी स्याहार्न पठाएपनि दोस्रो र तेस्रो सन्तानको पालामा घरमा नै नजरबन्द अवस्थामा राखिएको गुनासो गर्दै उनले कार्यक्रममा भनिन् “मलाई आफ्ना सन्तानलाई छुन, बच्चाहरुको कपडा धुनसमेत पनि दिइएन, त्यसैले कहिलेकाहीँ बच्चाहरुको कपडा छुन पाएपनि असाध्यै खुशी लाग्थ्यो” ।
१४ वर्षको अवधिमा आफूलाई शौचालय सफा गर्न, घरको भूइँ पुछ्न र भाँडा माझ्न मात्र लगाइएको उनको भनाई छ ।
बोक्सी भन्दै परिवारका सदस्यले प्रमिलालाई उमालिएको नुनपानी खन्याउने, कपाल खौरिदिने, मकलमा आगो बालेर खुर्सानीको धुँवा सुँघाउने, चिम्टाले डाम्ने, सिस्नोले पोल्नेलगायतका यातना दिने गरेको समेत उनले कार्यक्रममा तितो यथार्थ पोखिन् ।
कार्यक्रममा महिला वकालत क्षेत्रमा काम गर्ने तथा महिलावादी व्यक्तिहरुले यो घटना एक जनाको मात्र नभएर सम्पूर्ण महिला माथिको हिंसा भएको भन्दै पीडितलाई न्याय दिलाउन ढिला गर्न नहुने बताएका थिए ।
महिला हिंसा बढ्दै जाँदा र पीडितलाई सजाय र पीडकलाई न्याय दिलाउन नसक्दायस किसिमका  हिंसा, अपहरण दिनप्रतिदिन बढ्दै गएका छन् । काठमाडौँ जैसीदेवलकी छोरीमैया महर्जनको हालसम्म कुनै अत्तोपत्तो नहुनु पनि यसको अर्को उदाहरण हो ।
यातनाका बेला प्रमिलाको च्यातिएको कपडा देखाइँदै ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।