उम्लदै झन् गोर्खाल्याण्ड

भदौ ३ । स्वतन्त्र गोर्खाल्याण्डको माग गर्दै गरिएको शान्तिपूर्ण आन्दोलनमाथि दमन र राज्य सरकारले मागप्रति संवेदनशिल नबनेपछि आन्दोलन झनै चर्किएर गएको छ ।

यसअघि शुक्रबार गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटीले आहवान गरेका आन्दोलन समेत फेरबदल हुँदै झनै उचाईमा पुगेको छ ।

कमिटीले १६ तारिखदेखि २६ तारिखसम्मका आन्दोलन फेरबदल गरेको छ ।
आइतबार बसेको कमिटीको सर्वदलिय बैठकले ५ दिनका लागि तोकिएको ‘घरभित्रै जनता’ कार्यक्रम एक दिन मात्रै आयोजना गर्ने बाँकी चार दिन अर्थात २० देखि २३ तारिखसम्म ‘जनता सडकमा’ भन्ने अर्को कार्यक्रमको घोषणा गरेको छ ।

नयाँ कार्यक्रम अन्तर्गत गोर्खाल्याण्डको माग गर्दै घरभित्रैबाट आन्दोलन गरिरहेका आन्दोलनकारीहरु सडकमा उत्रन थाल्ने भएका छन् ।

त्यसैगरी, २४ र २५ तारिख गोर्खाल्याण्ड प्रस्तावित क्षेत्रमा हातमा कालो पट्टी बाँधेर राँके जुलुस आयोजना गर्ने र २६ तारिख राजमार्ग र राज्यका अन्य सडक खण्डमा ‘मानव साङ्लो’ बिछ्याउने कार्यक्रम तय भएका छन् ।

राज्य सरकारले भने आन्दोलनलाई दमन गरेर लैजान खोजिरहेका बेला गोर्खाल्याण्डको माग गर्दै उत्रिएकाहरु भने रगत बगाउन समेत पछि नपर्ने उदघोषका साथ आन्दोलनमा होमिएका छन् । स्वतन्त्र गोर्खाल्याण्डको माग गर्नु उनीहरुको अधिकार समेत रहेको बताइन्छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।