भदौ १ । एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा नेपाल ३ रनले पराजित भएको छ ।
कप्तान पारस खड्का एक्लेलै ६० रन जोडेपनि अन्तिममा ब्याट्सम्यान चुकेपछि नेपाल पराजित हुन पुगेको हो ।
सिंगापुरमा आजबाट सुरु भएको प्रतियोगितामा अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

त्यसमा जवाफी ब्याटिंग थालेको नेपाल अन्तिममा ४ बल बाँकी छँदा ३ रन जोड्नबाट चुकेको थियो ।

खेल जारी रहेकै बेला वर्षाले केही छिन खेल रोकिएको थियो । त्यसपछि खेललाई ४६ ओभरमा छोट्याइएको थियो। १ सय ७० रनको लक्ष्यलाई घटाएर १ सय ६१ बनाइएको खेलमा कप्तान पारसले मात्रै ६० रन जोडे पनि नेपालले १ सय ५७ रन  जोड्दा सबै विकेट गुमाउन पुग्यो ।

जहाँ पाँचौ नम्बरमा ब्याटिङमा आएका शरद भेषवाकर छैटौ विकेटको रुपमा आउट भएपछि पनि नेपाललाई १४ बलमा ८ रनको खाँचो थियो ।

तर नेपालले अन्तिमका दुइ ओभरमा ४ विकेट गुमाउन पुगेको थियो ।

आजको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले २४, सुवास खकुरेलले २३,  पृथु अनिल मण्डल ३, बास्कोटा २ मा समेटिएका थिए ।

यता,  टस हारेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमै दबाब राख्ने क्रममा नेपालका बसन्त रेग्मीले १० ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ५ विकेट लिए । अभिनाश कर्ण, चन्द्र साउथ र सागर पुनले समान १-१ विकेट लिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।