दुर्गास्थान २ घर भई हाल सतबाँझ बजारमा व्यापार गर्दै आएका खेम चन्दले छोरा बेपत्ता भएको भन्दै एक वर्षअघि एक लाख रुपैयाँ र गत जेठमा दुई लाख रुपैयाँ बुझेर लगेका थिए । रकम लगिसकेपछि प्रशासनले प्रहरीमार्फत बुझ्दा बेपत्ता भनिएका छोरा विष्णु चन्द घरमै रहेको फेला परेको थियो ।
छोरा भारतमा काम गर्न गएको बेला बेपत्ता भन्दै राहत बुझेर लगेपछि चन्दलाई प्रशासनमा बोलाएर एक महिनाभित्र रु तीन लाख बुझाउने सर्तमा छोडे पनि उक्त अवधिभित्र रकम बुझाउन नमान्दा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीको निर्देशनमा उनी थुनामा परेका छन् । गत असार पहिलो साता एक महिनाभित्र रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर चन्दलाई त्यतिबेला सहायक प्रमुख जिल्ला अधिकारी हरिराज बिष्टले तारेखमा छोड्नुभएको थियो तर रकम फिर्ता गर्न आनाकानी गरेपछि उनलाई प्रहरी नियन्त्रणमा राखेको प्रमुख जिल्ला अधिकारी क्षत्रीले बताए ।
केही दिनभित्र रकम फिर्ता नगरे उनीमाथि मुद्दा चलाउने बताइएको छ । चन्दलाई बेपत्ता भन्दै सिफारिस गर्ने गाविस र स्थानीय शान्ति समितिका कर्मचारीमाथि भने जिल्ला प्रशासन कार्यालयले कुनै छानबिन सुरु गरेको छैन । थप पाँचजना बेपत्ता भनी राहत रकम बुझेर लग्नेहरुका बारेमा समेत छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका नायब सुब्बा दत्तराम बडुले जानकारी दिए।