साउन ३० । गैरआवासीय नेपाली संघको अध्यक्ष पदकालागि वर्तमान उपाध्यक्ष रामेश्वर शाहले उमेद्वारी घोषणा गरेका छन् । काठमाडौंस्थित होटल शंकरमा पत्रकार सम्मेलन आयोजना गरेर शाहले उमेद्वारी घोषणा गरेका हुन् । शाहको उमेद्वारी घोषणा कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व पदाधिकारी र ठूलो मात्रामा अन्य गैरआवासीय नेपाली प्रतिनिधिहरुले ऐक्यबद्धता जनाएका थिए।

उमेद्वारी घोषणा कार्यक्रममा वोल्दै शाहले भन्नुभयो “नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रका साथ अगाडि बढेको गैरआवासीय नेपाली अभियानले बोकेको निर्दिष्ट उदेश्यहरुलाई मूर्त रुप दिन अग्रजहरुको आशीर्वाद र शुभेक्षा तथा सम्पूर्ण एनआरएन साथीहरुको समर्थन र सहयोगको अपेक्षा सहित छैठौँ अन्तर्राष्ट्रिय महाधिबेशनबाट छानिने संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु। ”

शाहले गैरआवासिय नेपालीहरुको नागरिकताको निरन्तरताको अभियानलाई तार्किक निश्कर्षमा पुर्याउँदै संघको आदर्श वाक्य “एक पटकको नेपाली सधैंको नेपाली” लाई सार्थक बनाउनेमा लागि पर्ने विश्वास दिलाउन भएको छ। उहाँले उच्च शिक्षा, ब्यवसायिक सम्भावना र रोजगारीको खोजिमा प्रवासिन पुगेका नेपालीहरुलाई आफू बसोबास गरेको देशको नागरिकता लिएकै कारण आफ्नै जन्मभूमिको पहिचान त्याग्नु पर्ने बाध्यात्मक अवस्थाले बदलिँदो बिश्वका सम्भावनाहरुबाट बन्चित गराउनुका साथै बाह्य विश्वसँगको सम्बन्धलाई समेत सीमित गर्ने व्यवस्था संकुचित प्रावधान भएको प्रष्ट पार्नुभएको छ । उहाँले नागरिकताको निरन्तरताले पहिलो पीँढीका गैरआवासीय नेपालीहरुलाई जन्मभूमिप्रतिको जिम्मेवारी बोध गराई रहने तथा दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुलाई मातृभूमि प्रतिको लगाव कायम राख्न मद्दत गर्ने बताउनुभएको छ।

उमेद्वारी घोषणा गर्न आयोजना गरएिको पत्रकार सम्मेलनमा शाहले नेपालको सिंगो अर्थतन्त्रमा वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले एक चौथाई भाग ओगटेको तथा देशभरको आधा भन्दा बढी परिवार त्यही रेमिट्यान्सले थेगेको बताउनुभयो। गरिवी र बेरोजगारीले निम्त्याएको बैदेशिक रोजगारले बिप्रेषणसँगै बिभिन्न भौतिक, समाजिक र सांस्कृतिक विसंगतीहरु पनि नेपाली समाजवीच भित्रिरहेको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारबाट आर्जित सीप, ज्ञान र पूँजिको सही परिचालन गर्दा मात्रै गैर आवासीय नेपालीहरुले देखेको समृद्ध राष्ट्रको सपना पूरा हुने प्रष्ट पार्नुभयो। वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको बचतलाई पूँजिमा परिणत गरी उत्पादनमुलक कार्यमा लगानी गर्दै सम्मानजनक पुनस्र्थापनाकोलागि अभिप्रेरित गर्ने योजना शाहले कार्यक्रममा राख्नुभएको थियो। साथै उहाँले संसारको कुनैपनि देशको विकासमा वैदेशिक लगानीले एउटा महत्वपूर्ण भाग ओगटेको हुने भन्दै गैरआवासीय नेपालीहरुको छरिएर रहेको स₋सानों बचतलाई सामूहिक लगानीको अवधारणाबाट देश भित्र्याउन गरिरहेको प्रयास स्वरुप एनआरएन इन्भेष्टमेन्ट कम्पनी मार्फत भएका प्रयासहरुलाई निरन्तरता दिनुकासाथै विभिन्न तह र तप्कामा छरिएर रहेको पूँजी र वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने कार्यहरुलाई अगाडि सार्ने अठोट व्यक्त गर्नुभएको छ। बृहत् वैदेशिक लगानी भित्र्याउन लगानी मैत्री वातावरणको विकास र प्रवर्धनमा समेत जोड दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।

दैनिक विदेशिने झण्डै दुई हजार यूवाहरु मध्येको अधिकाँश संख्या विशेष गरी मध्यपूर्व तथा मलेशियामा पुग्ने गरेको उल्लेख गर्दै शाहले उनीहरुले त्यस ठाउँमा भोग्नुपरेका समस्याको अतिरिक्त वैदेशिक रोजगारीका नाममा महिला हिंसा तथा मानव वेचविखन हुने गरेको विकराल स्थिति रहेको बताउनुभयो। वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित वनाउन जरुरी रहेको पनि उहाँले बताउनुभयो। यसका लागि हाल भइरहेका प्रयासलाई निरन्तरता दिँदै आगामी दिनहरुमा यसलाई अझ बढी मर्यादित र व्यवस्थित गर्न अभियान नै चलाउनुतर्फ आफू लाग्ने उहाँले बताउनुभयो। विदेशमा अध्ययन अध्यापन तथा अन्य दक्षता हासिल गरी फर्केका गैरआवासीय नेपालीहरुलाई स्वदेशमा पुनस्थापना गर्ने, स्वदेश फर्कंदा राष्ट्रिय सम्पत्तिको रुपमा सम्मान गर्ने परिपाटी वसाल्ने तथा विदेशमा सिकेको सिपलाई नेपालमा उपयोग गर्ने वातावरणका अतिरिक्त ति विषयहरुको अध्ययन, अनुसन्धान गरी उचित रोजगारीको अवसर प्रदान गर्ने परिपाटीमा जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो। यो क्षेत्रको अध्ययन अनुसन्धान तथा उचित व्यवस्थापनमा वैदेशिक रोजगार कार्यदल, एनआरएन महिला सेल जस्ता संघका अभिन्न अंगहरुलाई सशक्त र सुदृढ बनाउदै अध्यागमन तथा वैदेशिक रोजगार विभागसँगको सहकार्यमा जोड दिने उहाँले आफ्नो योजना सुनाउनुभयो।

अध्यक्षका उमेद्वार शाहले गैरआवासीय नेपाली संघको अस्तित्व स्थापनासँग गाँसिएर रहेको संघ दर्ता सम्वन्धी सवाल जटिल बन्दै गइरहेको परिप्रेक्षमा आफ्नै नेतृत्वको संघ दर्ता सम्बन्धी कार्यदलले विगतका प्रयास, प्रगति तथा अग्रज तथा साथीहरुको सहयोग र सहकार्य समेतका आधारमा छिट्टै संघ दर्ता गर्ने अवस्थामा पुरयाउने विश्वास दिलाउनुभएको छ।

शाहले अध्यक्षमा उमेदवारी घोषणा गर्दै गर्दा आफ्ना प्राथमिकताहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्नुभएको छ। उहाँले वैदेशिक रोजगारको सुरक्षित कार्य चयन, सुसूचित गमन, मर्यादित आगमन र सम्मानजनक पूनस्र्थापनामा जोड दिँदै सो क्रममा बढ्दै गएको महिला हिंसा, असमानता, मानव तस्करी लगायत अनियन्त्रित युवा श्रम र प्रतिभा पलायनमा निरुत्साहित हुने कार्यमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। पहिलो पिढीका गैरआवासीय नेपालीहरुलाई जन्मभूमिप्रतिको जिम्मेवारी बोध गराई रहने तथा दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुलाई मातृभूमिप्रतिको सम्बन्ध र संपर्क कायम राख्न मद्धत गर्ने नागरिकताको निरन्तरताको विषयलाई आफूले जोडदार रुपमा उठाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

आर्थिक समुन्नतिको धरोहर प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन आर्थिक कुटनीति तथा लगानी मैत्री वातावरणको निर्माण लगायत वैदेशिक रोजगारबाट आर्जित सिप, ज्ञान र पूँजिको सही परिचालन गर्न तथा सामूहिक लगानीको अवधारणा मार्फत् मात्र समृद्ध राष्ट्रको सपना पूरा हुने भएकाले सो बचतलाई पूँजिमा परिणत गरी उत्पादनमुलक कार्यमा लगानी गर्न अभियान संचालन गर्ने तथा विप्रेषणको सही उपयोगकोलागि एनआरएन विशेष बचत योजनाको व्यवस्था र संचालनका लागि पहल गर्ने समेत उहाँले आफ्नो प्राथमिकतामा राख्नुभएको छ। संस्थाको परिचय, समस्या पहिचान र संजालको निर्माणमा समर्पित हाम्रो अभियानको एकदशकको उपलब्धिलाई संघको संस्थागत विकास र गुणात्मक उपलब्धि हासिल गर्ने अवसरको रुपमा उपयोग गर्ने तर्फ ध्यान दिने प्रविबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघमा बिगत दश बर्षदेखि आफूले विभिन्न स्वरुपमा योगदान पुरयाएको भन्दै उहाँले अध्यक्षको जिम्मेवारी पाएमा अग्रजहरुको सानिध्यमा रही उहाँहरुको कार्यप्रणाली र कटिबद्धता देखेर हासिल गरेको ज्ञान र क्षमता एबं संसारभरी छरिएर रहेका साथीहरुसंगको अन्तरक्रिया र छलफलबाट प्राप्त जानकारीहरुलाई उपयोग गर्दै संगठनलाई नयाँ उचाइमा पुरयाउन तथा हाम्रा निर्णय र निष्कर्षहरुलाई साकार पार्न कुनै प्रकारको कमी हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ। पारस्परिक एकता, समझदारी र सहकार्य संघको विशेषता, पहिचान र सौन्दर्य भएको भन्दै उहाँले यी विशेषताहरुलाई अझ परिष्कृत र प्रभावकारी रुपमा उपयोग गर्ने निरन्तर प्रयत्न आफूले गर्ने उहाँले विश्वास समेत दिलाउनुभएको छ।

स्थापनाकालदेखि एनआरएनएका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै, राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष र सल्लाहकारदेखि अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष, संघको उपाध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी र एनआरएन ईन्भेष्टमेण्ट कम्पनीको संस्थापक रही प्रमुख कार्यकारीको कार्यभार लगायत भुमिकाहरु दृढतार्पूक निभाएको पृष्ठभुमीमा अध्यक्षमा उमेद्वारी दिएको उहाँले बताउनुभएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।