साउन ३० । निर्वाचन आयोगले आचार संहिता विपरित नेताहरुबाट भएका क्रियाकलापप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सचेत गराउने तयारी गरेको छ ।

कांग्रेस सभापति सुशिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले बरिष्ठ नेताको भारत भ्रमण निर्वाचनलाई नै प्रभाव पार्ने गरी भएको भन्दै आयोगले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसबारे आवश्यक कारबाही अगाडि बढाउन छलफल सुरु गरेको छ ।

आयुक्त रामभक्त पिवी ठाकुरले नेताहरुको विदेश भ्रमण आचार संहिता विपरित रहेको धारणा सञ्चारमाध्यम मार्फत सार्वजनिक गरेपछि आयोगले त्यसबारे आफ्नो आधिकारीक धारणा तय गरि सचेत गराउने तयारी थालेको छ ।

यता, राजसंस्था फर्कन सक्छ भनी राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दिएको अभिव्यक्ति पनि आचार संहिता विपरित रहेको भन्दै आयोगमा छलफल चलेको छ । तर यस विषयमा भने आयोगकै पदाधिकारीबीच विवाद उत्पन्न भएको छ ।

आयुक्त अयोधीप्रसाद यादवले थापाको अभिव्यक्ति अन्तरिम संविधान तथा आचार संहिता विपरित रहेको भन्दै सचेत गराउनु पर्ने प्रस्ताव राखेपछि त्यसबारे कुरा उठेको थियो ।
तर थापालाई सचेत पत्र पठाउने बारे भने आयुक्त इला शर्मा र प्रमुख आयुक्त निलकण्ठ उप्रतीले असहमति राखेपछि आयोगमा विवाद उत्पन्न भएको थियो । विवादले त्यहाँ निक्कै चर्को रुप पनि लिएको बुझिएको छ ।

निर्वाचनको वातावरण नै विगार्ने गरी थापाको अभिव्यक्ति नआएको र बोलेकै आधारमा पत्र काट्दा वाक स्वतन्त्रता हनन् हुने भन्दै प्रमुख आयुक्त र आयुक्त इला शर्माले असहमति राख्दै आएका छन् ।

आयुक्त यादवले भने मुलुक गणतन्त्रात्मक दिशामा गइसकेको अवस्थामा परिस्थिती भड्काउने गरि थापाको अभिव्यक्ति आएकाले सचेत गराउनु पर्ने धारणा राखेको स्रोतले हेलोखबरलाई बताएको छ । यसबारे निर्णय गर्न आचार संहिता अनुगमन समितिको आज बैठक बस्दैछ ।

बैठक बसेर नेताहरुको भारत भ्रमण र थापाको अभिव्यक्तिबारे आयोगले आधिकारीक धारणा सार्वजनिक गर्ने आयुक्त यादवले जानकारी दिए ।

यसअघि एक साता अगाडि देश भरका पत्रकारहरुलाई तालिम दिन भन्दै निर्वाचन आयोगले धुलिखेलमा १६ जना पत्रकारलाई प्रशिक्षण प्रशिक्षक तालिम दिने क्रममा पनि निर्वाचन आयोग विवादित बन्न पुगेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।