महिनावारी रोक्ने औषधिको सेवनले बाँझोपनको समस्या बढाउँछ भन्ने सुनिन्छ, के यो सत्य हो ? – नेहा, वीरगन्ज⁄ हाल : पेप्सीकोला

नेहाजी, महिनावारी रोक्नको लागि हर्मोन पिल्स उपयोग गर्ने गरिन्छ । त्यस्तो औषधिले २–३ दिन महिनावारी पर सर्ने गरेको अध्ययनले देखाएको छ । साधारण गुलाफ चक्की पनि यस कार्यका लागि उपयोग गर्ने गरिन्छ । यस्तो औषधि नियमित उपयोग गरिँदैन र गरे पनि चिकित्सको सल्लाहले उपयोग गर्ने हुनाले बाँझोपनको सीधै खतरा रहँदैन । बाँझोपनको समस्या त्यस्ता चक्कीले गराउँछन् भन्ने अध्ययनले नदेखाएकोले यो सत्य हो भन्न सकिएन ।

मेरो छोरो १३ वर्षको भयो । उठ्दा–बस्दा प्रत्येक पटक उसको दुवै घुँडा पड्किन्छ । घुँडाको अन्य समस्याचाहिँ केही छैन । यसरी घुँडा किन पड्किन्छ ? पछि केही हानि त गर्दैन ? -रुपमा कार्की, सानोठिमी, भक्तपुर

रूपमाजी, जसरी औँला पड्कन्छन् त्यसरी नै जोर्नीभित्र हावा भएमा त्यो हावा स्थानान्तरण हुँदा पड्कने गर्छ । त्यही प्रक्रियाले होला बच्चाको घुँडाको जोर्नी पड्कने गरेको । कहिलेकाहीँ अन्य व्यक्तिको पनि घुँडा पड्केको सुन्ने गरेकै पनि होला । यसरी पड्कँदैमा हानि गर्ने भन्ने हुँदैन । दुख्ने, सुन्निने समस्या छैन भने यसप्रकार पड्कँदैमा समस्या होलाजस्तो पनि लाग्दैन । आफूले बल गरेर पड्काउने बानी गर्नुचाहिँ राम्रो होइन । एक पटक हाड–जोर्नी विज्ञ वा फिजियोथेरापिस्ट भेट्नुभएमा थप सल्लाह मिल्न सक्नेछ ।

म २१ वर्षीया युवती हुँ । विगत २ वर्षअघि पेट दुख्ने समस्याले अस्पतालमा भर्ना हुँदा मृगौला इन्लार्ज भएको समस्या देखिएको थियो । औषधि खाएर ठीक भइयो तर मृगौला आफ्नो साइजमा आए⁄नआएको थाहा भएन । गत महिना त्यही समस्या दोहोरिएको थियो । औषधिले ठीक पनि भयो । तर यो के कारणले हुन्छ । उही समस्या दोहोरिइरहँदा भोलि मृगौलामा ठूलै समस्या देखिने त होइन? कृपया बताइदिनुहुन्थ्यो कि ? – विनायक थापा, काठमाडौं

विनायकजी, मृगौला ठूलो हुने भनेको पिसाब रोकिएपछि भित्रका स्थान फैलिनु हो । अथवा जन्मजात नै मृगौलाको ठूलो आकार पनि हुन सक्छ । त्यो कुरा मृगौलाको भिडियो एक्सरे गरेर मात्र पत्ता लाग्छ । आफ्नो स्थानमा फर्कनको लागि रोगले सुन्निएको र उपचार भएको हुनुपर्यो । जन्मजात नै ठूलो हो भने त पुरानो साइजमा फर्कने कुरै भएन । तसर्थ एकपटक भिडियो एक्सरे (अल्ट्रा साउन्ड) गरेर मृगौला विशेषज्ञलाई देखाउनुस्, सबै स्पष्ट हुनेछ ।

म १९ वर्षकी भएँ । दुई वर्षअगाडि बाध्यतावश कसैसँग मेरो शारीरिक सम्पर्क भएको थियो । अहिले मेरो विवाह भयो । श्रीमान्ले ठट्टैठट्टामा तिम्रो कसैसँग सम्पर्क भएको त छैन? भनेर जिस्क्याउँदा मेरो मन झसड्ड भयो । के त्यस्तो कुरा श्रीमान्ले थाहा पाउन सक्छन् ? कतै मेरो जिन्दगी बरबाद त हुने होइन ?

चिन्तित बनेकी बहिनी, पुराना कुरा बिर्सेर तन, मन, धनले श्रीमान्प्रति इमानदार तथा सत्यवादी बन्नुस्, त्यसैमा भलो छ । यौनजन्य क्रियाकलाप नियमित गर्ने र नगर्ने व्यक्तिको हाउभाउ तथा प्रतिक्रिया फरक त हुन्छ नै, त्यो तपाईंमा लागू हुँदैन । किनकि तपाईंको शारीरिक सम्पर्क बाध्यतावश र त्यो पनि एक पटक मात्रै भएकोले निर्धक्क भएर अब श्रीमानप्रति इमानदार बन्नुस् ।

म २५ वर्षीया युवती हुँ । म हिजोआज निद्रामा बर्बराइरहन्छु भनेर आमा जहिल्यै भनिरहनुहुन्छ । निद्रामै यसरी आवाज निकालेर कराउनु कतै मानसिक समस्या त होइन ? -जेस्मिना महर्जन, थानकोट

जेस्मिनाजी, तपाईंले अहिले २५ वर्ष भएपछि मात्र बर्बराउन सुरु गर्नुभयो कि पहिलेदेखि नै हो भन्ने थाहा भएन । निद्रामा कराउने कताकति भेटिन्छन् । यसलाई मानसिक रोग त नभनौं तर कतिपय अव्यक्त कुराहरू निद्रामा व्यक्त हुन पनि सक्छन् । यो मानसिक रोग नै नभए पनि तपाईंले सम्पर्क गर्नुपर्नेचाहिँ मनोरोग विशेषज्ञ नै हो । एकपटक मनोरोग विशेषज्ञसँग सल्लाह गर्नुभएमा उचित सहयोग मिल्नेछ । साभार: साधना

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।