साउन २५ । पुनरावेदन अदालत बार एसोसिएसन राजविराजको निर्वाचनमा प्रजातान्त्रिक समूहको आधिकारिक उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै प्रजातान्त्रिक कानुन व्यवसायी एसोसिएसनले पुनरावेदन बारका पूर्व अध्यक्षसहित तीनजनालाई निष्कासन गरेको छ ।

एसोसिएसनका पूर्व अध्यक्ष श्यामनारायण साह, सदस्यहरू रमानन्द साह र बालकिशोर यादवले प्रजातान्त्रिक समूहका आधिकारिक उम्मेदवारविरुद्ध प्रचारप्रसार गरेर पराजित गर्नमा भूमिका खेलेको ठहर गर्दै निष्कासन गरेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका सचिव विमलकुमार साहद्वारा आज वितरित प्रेस विज्ञप्तिमा एसोसिएसनको बैठकले तीनैजनालाई एसोसिएसनको विधानको धारा २० को उपधारा १ अनुसार साधारण सदस्यताबाट निष्कासन गरेको उल्लेख छ ।

गत असार ३ गते सम्पन्न निर्वाचनमा प्रजातान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार विजय यादवसहित उपाध्यक्ष, सचिवलगायत कार्य समितिको बहुमत उम्मेदवारहरू झिनो मत अन्तरले पराजित भएका थिए ।

पुनरावेदन अदालत बार एसोसिएसनको १८७ मतदातामध्ये बहुमत सदस्य प्रजातान्त्रिक समूहको भए पनि पराजित भएपछि एसोसिएसनले आन्तरिक छानबिन गरी कारबाही गरेको जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।