साउन २३ । झापाका युवा पत्रकार सुब्रत न्यौपानेलाई २०६९ सालको यादव पौडेल खोज पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यादव पौडेल खोज पत्रकारिता कोषले पहिलो पटक बुधबार बिर्तामोडमा एक कार्यक्रमका बीच न्यौपानेलाई पुरस्कृत गरेको हो ।

मेची टाइम्स दैनिकको आठौं वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई कोषका अध्यक्ष जलकुमार गुरुङ र प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा महासंघका पूर्वाञ्चल संयोजक मोहनकाशी न्यौपानेले खादा होडाएर नगद र सम्मानपत्रले पुरस्कृत गरे । पुरस्कारको राशी एघार हजार एक सय ११ रहेको छ ।

पत्रकार न्यौपानेले झापाको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सो पुरस्कार प्रदान गरिएको कोषका अध्यक्ष जलकुमार गुरुङले बताए । पुरस्कार पत्रकार पौडेल कार्यरत न्यू मेची टाइम्स दैनिकले गतवर्ष स्थापना गरेको थियो ।

भोजपुरको गोगनेमा जन्मिएका पत्रकार न्यौपाने विगत १३ वर्ष देखी झापामा पत्रकारिता गर्दै आएका छन् । एभिन्यूज टेलिभिजन र नयाँ पत्रिका दैनिकमा आबद्ध २८ वर्षीय न्यौपाने झापाको रेडियो भिजनका समाचार प्रमुख समेत हुन् ।

पुरस्कृत न्यौपानेले सहकर्मीको स्मृतीमा स्थापित पुरस्कार ग्रहण गर्नुपर्दा दुःख लागेको भन्दै समाजको बिडम्बना रुपमा स्र्वीकारेको बताए । उनले पुरस्कारबाट प्राप्त रकम कुनै सामाजिक कार्यमा लगाउने घोषणा गरेका छन् ।

खोज पत्रकारितामा रुची राख्ने मेची टाइम्स दैनिकका कार्यकारी सम्पादक पौडेलको २०६८ चैत २१ गते राती बिर्तामोड बसपार्कमा हत्या गरिएको थियो । कोषले खोज पत्रकारितामा कलम चलाउने झापाका एक पत्रकारलाई प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्ने जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।