दिप बहादुर घर्ति/जाजरकोट
साउन २३ । साल्ट ट्रेडिङ कर्पोरेशनको जिल्ला स्थित गोदाममा नुन नभएपछि पहाडी जिल्ला जाजरकोटमा नुनको हाहाकार भएको छ । 
अघिल्लो आर्थिक बर्षको निर्धारित कोटाको नुन सकिएको र यो बर्षको टेण्डर प्रक्रिया नभएकोले जिल्लामा नुनको हाहाकार भएको हो ।
अघिल्लो आवमा बर्षको निर्धारण गरिएको १ हजार क्वीन्टल नुन मध्ये ७ सय ४ क्वीन्टल मात्र जिल्लामा पुगेको बताईएको छ । नुन ढुवानीको जिम्मा लिएका ठेकेदारले जिल्लामा आपुर्ति गर्नु पर्ने २ सय ९६ क्वीन्टल नपुर्याएपछि समस्या उत्पन्न भएको हो ।
सदरमुकाम स्थित नुनका डिपोहरुमा नुन पाइन छोडेपछि गाउँ गाउँबाट सदरमुकाम स्थित डिपो पुगेका सर्बसाधारण खाली हात फर्कन बाध्य छन् ।
समयमा नुनको आपुर्ति हुन नसकेपछि सर्वसाधारणलाइ निकै मर्का परेको छ । दुई दिन पैदल हिडेर नुन लिन सदरमुकाम आएपनि एक पोका पनि नुन पाउन नसकेको पैक १ का भुमबहादुर रोकायले बताए । उनले सदरमुकाममा आएर एक पोका पनि नुन नपाएको गुनासो गरे ।
रोकाय मात्र होईन दैनिक नुन लिन आउने सयौं सर्वसाधारणहरु रोकाय जस्तै नुन नपाएर फर्कन बाध्य भएका छन् । उचम साल्ट ट्रेडिङ शाखा कार्यालय जाजारकोटका प्रमुख भरत श्रेष्ठले गत आवको निर्धारित कोटा सकिएको र नयाँ टेण्डरको प्रक्रियामा भएकोले जिल्लामा नुनको अभाव भएको बताए । माथिल्लो निकायमा जानकारी गराएका छौं कहिले सम्म आउने हो, उनले भने ।
जिल्ला सदरमुकाममा मात्र नुन बितरण केन्द्र भएका कारण ग्रामिण क्षेत्रका बासिन्दा नुन लिन सदरमुकाम आउनु पर्ने बाध्यता छ । सरकारले आयोडिन युक्त नुनमा जाजरकोट लगायत विकट पहाडी तथा हिमाली जिल्लामा ढुवानी अनुदान दिदै आएको छ ।
आयोडिन युक्त नुनमा अनुदान दिने भएकोले प्रति केजी (एक प्याकेट) १० रुपैयामा बिक्री हुने गर्दछ । यो नुन सस्तो पर्ने भएकोले बजारमा ढिके नुन समेत पाईदैन् । ढुवानी सहित ढिके नुनको मूल्य दोब्वर पर्ने भन्दै ब्यापारीले बजारमा नल्याएका कारण नुनको जिल्लामा हाहाकार भएको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।