साउन २० ।‘बाबु हमर जीवन बेकार छै, हमरा बरा कष्ट मे रखने हौं हमरा बचाव’ (बुवा मेरो जीवन बेकार रहेछ, मलाई ठूलो कष्ट दिएर राखेको छ, मलाई मुक्त गराउनोस्)_छोरासँगको अन्तिम संवाद सुनाउँदै दुवै हत्केलाले आँखा छोप्दै भक्कानिरहेका छन्, रामलखन सहनी । उनीसँगै टोल–छिमेकमा रहेका सबैका आँखा रसाउँछन् । हत्या भएको ६ दिन बितिसक्दा पनि महोत्तरी जिल्लाको सरपल्लो–६ स्थित सहनी टोलमा यस्तै दृश्य देखिन्छ । महोत्तरीको सरपल्लो गाविस–६ का माछा व्यापारी २४ वर्षीय विक्रम सहनीको सहसौला गाविस–७ स्थित रामानन्द यादवको खेतमा गत १४ साउनमा शव फेला परेको थियो, दुवै हात पछाडि फर्काएर बाँधिएको अवस्थामा ।

आँखामा पट्टी बाँधिएको, शरीरभरि नीलडाम र मुखभरि बालुवा कोचिएको अवस्था थियो, उनको शव । मोटरसाइकलमा २५ किलो माछा राखेर बेच्न भनी १२ साउनमा पोखरभिन्डा बजार गएको छोरा राति घर नफर्कंदा रातभरि सुत्न सकेनन्, रामलखन । तर पनि बुहारीलाई सान्त्वना दिँदै भन्थे, ‘रात प¥यो, कुनै आफन्तकहाँ बस्यो होला, भोलि बिहान त आइहाल्छ ।’ बिहान नहुँदै रामलखनले बुहारीलाई दिएको सान्त्वना झूटा ठह¥यो । १३ साउनको बिहानै शौचबाट रामलखन फर्कंदा घरमा बुहारी डाँको छोडेर रुँदै थिइन् । कारण सोध्दा थाहा भयो, छोरा अपहरणमा परेछ । अपहरणकारीले उनको मोबाइलमा फोन गरी १० लाख रुपैयाँ फिरौती मागेछ । आँखाका डिल जम्मै आँसुले भर्दै रामलखन भन्छन्, ‘मेरो आँखाले संसारै घुमेको देख्न थाल्यो, सम्पत्तिको नाममा यही घर रहेको साँढे एक कट्ठा जमिन मात्र भएको मान्छेले १० लाख कहाँबाट ल्याउनु रु’ सोही दिन अपहरणकारीको फेरि फोन आयो, रामलखनले नै फोन उठाएर ‘हलो’ भन्दा १० लाखको व्यवस्था छिट्टै गर नत्र छोरालाई मार्ने धम्की दिँदै उनको ना२३प ८१२० नम्बरको मोटरसाइकल छाडेको ठाउँबारे जानकारी गराई फोन काटेका थिए । उनले भनेअनुसार खोज्दै जाँदा सो मोटरसाइकल सोनौल गाविसनजिक चौरीमा आइतबार बिहान फेला प¥यो । घटनापछि जिल्लाभर व्यापक प्रहरी परिचालन गरिएको छ ।

काठमाडौंबाट प्रहरी निरीक्षक, सर्लाही, अञ्चल प्रहरी कार्यालय जनकपुर र क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी टोली मगाई अपहरणकारी पक्राउ गर्ने नाममा सघन चेक–जाँच प्रणाली लागू गरी सर्वसाधारणलाई दुःख दिन थालेका छन् । अहिले जिल्लामा २५ भन्दा बढी सादा पोसाकका प्रहरी परिचालन गरिएको छ तर उनीहरूले हालसम्म कसैलाई पक्राउ गर्न सकेका छैनन् । मोटरसाइकलका कागजातको खोजी गर्न थालिएको छ । यात्रुका पोकाहरू खोतल्न थालिएको छ । लाग्छ, साँच्चै प्रहरी सक्रिय छन्, महोत्तरीमा । त्यति मात्र होइन, काठमाडांैदेखि प्रहरीका अनुसन्धान विज्ञहरू अहिले महोत्तरीमा छन् । तर, विक्रम सहनीको अपहरणपछि यस्तो बीभत्स हत्या गर्नेलाई पक्राउ गरी जनसमक्ष उभ्याउन सकेको छैन । विक्रमका पिता रामलखनका अनुसार अपराधी हिँडिरहेको छ, प्रहरीले कसलाई खोजेको हो थाहा छैन ।

उनी भन्छन्, ‘प्रहरीले दोषी पक्राउ गर्छ भन्ने विश्वास लाग्दैन ।’ छोराको हत्यामा प्रहरीकै संलग्नताको शंका छ, उनलाई । घटना हुनुको कारण विद्यालयको विवाद रहेको रामलखनको भनाइ छ । अपहरण गरी हत्या गराउने सरपल्लो गाविस–३ स्थित दलित प्राथमिक विद्यालयका प्रधानाध्यापक लखिचन साह नै हुन् भन्ने किटानी दाबी छ, रामलखनको । उनी भन्छन्, ‘योबाहेक हाम्रो कसैसँग कुनै विवाद छैन ।’ सो विद्यालयका व्यवस्थापन समिति सदस्य हुन्, रामलखन । व्यवस्थापन समितिमा सधैं विवाद रहँदै आएको थियो ।

व्यवस्थापन समितिको बहुमत कहिले यता त कहिले उता हुँदा प्रधानाध्यापक पनि कहिले कुमोद मण्डल त कहिले लखिचन साह हुन्थे । कुमोद मण्डल प्रधानाध्यापक भएको समयमा रामलखनले छोरा विक्रमलाई पियनमा भर्ना गराएका थिए । ‘लखिचन साह प्रधानाध्यापक भएपछि विक्रमलाई तलब दिनु त परै जाओस्, उसले पाएको नियुक्ति पत्र पनि च्यातेर फलिदिए,’ उनी सम्झन्छन्, ‘प्रअ लखिचनले विद्यालयमा गरेका अनियमितताको डटेर विरोध गर्नुका साथै अभिभावकलाई पनि सुनाउन थालेपछि मलाई ५० हजार रुपैयाँ घुस दिन आएका थिए । त्यो घुस नलिई विरोधमा लागेकाले नै उनै प्रअ लखिचनले विक्रमको हत्या गराएका हुन् ।’ बारम्बार भगवान्को कसम खान्छन्, उनी यो कुरा भनिरहँदा ।

किटानी जाहेरी दिन जाँदा मुद्दा लेख्ने वकिल र प्रहरी दुवैले दोषी पत्ता लगाई कारबाही गरी पाऊँ भनी जाहेरी दिन सुझाएको बताउँदै रामलखन भन्छन्, ‘मैलै सबै कुरा दाबीका साथ भन्दा पनि उनीहरू यही भन्छन् र मैले जाहेरी नदिएको हो ।’ प्रअ लखिचनकै पक्षमा प्रहरी पनि रहेको हो वा प्रहरीका एक–दुई व्यक्ति यसमा संलग्न छन् भन्न सकिन्न । तर, प्रहरीको समेत संलग्नतामा शंका नरहेको रामलखनले तथ्य खोले । उनले छोरालाई छुटाउन भन्दै प्रहरी अधिकृत नै फिरौती लिन आफ्नो घरसम्म आइपुगेको रहस्य पनि खोले ।

‘आइतबार बिहान अपहरणकारीले १० लाख रुपैयाँ फिरौती माग्यो, त्यही दिउँसो कम्मरमा पेस्तोल भिरेको व्यक्ति ज२प ७०८४ नम्बरको मोटरसाइकलमा सवार हुँदै आँगनमा आएर बस्यो र आफूलाई प्रहरीको सई ९प्रहरी नायब निरीक्षक० भएको बताउँदै १० लाख रुपैयाँ देऊ, म तिम्रो छोरा छुटाइदिन्छु भन्यो । मैले छिमेकीसँग उसलाई समातेर बाँध्न भनेपछि ऊ मोटरसाइकल चढेर भाग्यो । छिमेकी लखेट्दै गए । पर बजार चोकमा एमालेका नेता कौशलकिशोर साह र पूर्वगाविस अध्यक्ष राजकिशोर साहले ती व्यक्तिसँग एकान्तमा कुरा गरे । उनीहरूले छिमेकीहरूलाई ऊ विन्देश्वर यादव नाउँ गरेको जिल्ला प्रहरी कार्यालयको सई हो भनेपछि छिमेकी फर्केर आए,’ रामलखनले तीतो यथार्थ खोले । यता, आरोपी भनिएका सई विन्देश्वर यादव पनि आफू अपहरणको अनुसन्धान र खोजतलासको सिलसिलामा हाकिमकै आदेश लिएर रामलखनको घर गएको स्वीकार गर्छन् । तर, उनी त्यहाँ रामलखनले आफूलाई केही नराम्रो शब्द प्रयोग गरेको बताउँदै १० लाख रुपैयाँ देऊ, तिम्रो छोरा छुटाइदिन्छु भनी नबोलेको बताउँछन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० रामप्रसाद श्रेष्ठ भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाँहदैनन् । प्रतिक्रिया लिन गएका सञ्चारकर्मीसँग एसपी श्रेष्ठले भने, ‘यस विषयमा म अहिले कसैका कुरा सुन्दिनँ र केही प्रतिक्रिया दिन्नँ, तपाईंहरूलाई कसरी सजिलो लाग्छ, त्यसरी नै लेख्नोस् ।’

एसपी श्रेष्ठले आफू नयाँ भएकाले यस सम्बन्धमा प्रजिअ राम थपलियासँग सोधपुछ गर्नूस् भन्दै पन्छिए । यता, अपहरणकारीले अझै पनि फोन गरेर परिवार नै सकाउने धम्की दिँदै आएको मृतकका बुवा रामलखन सहनीले बताए । हत्या भएको तीन दिनपछि ९८१७८७०१५३ नम्बरबाट अपहरणकारीले फोन गरी विक्रमको किरियाकर्म राम्ररी गर्नू, अनुसन्धानतिर लागे परिवारै सखाप पारिदिन्छौं भन्दै धम्की दिएको बताउँदै सहनीले आफ्नो जिउधनको सुरक्षाका लागि सबैसँग गुहार मागेका छन् । अपहरणकारीको बारम्बारको धम्की र प्रहरीले अपराधी पक्राउ गर्न नसकेको र प्रहरी नै संलग्न रहेको तथ्य बाहिर आएपछि सरपल्लोवासी अझै पनि सन्त्रासमा बाँच्न बाध्य छन् ।

साँझ पर्नेबित्तिकै सरपल्लो चोक सुनसान हुने गरेको इनसेक प्रतिनिधि इश्वरी काफ्लेले बताए । यता, जिल्लामा क्रियाशील आधा दर्जन मानव अधिकारवादी संघसंस्था घटनाबारे मौन बसेका छन् । उनीहरूले हालसम्म कुनै पहलकदमी नगरेको पीडितको गुनासो छ । राजधानी दैनिकमा खबर छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।