साउन १९ । नेपाल आयल निगमले घरायसी प्रायोजनका लागि राहतस्वरुप प्राप्त हुने ग्यासको कार्ड करिब पाँच लाख वितरण गरेको छ ।
प्रतिपरिवारलाई प्रत्येक महिना एउटा सिलिन्डर अनुदानमा दिइने बताइएको छ ।
निगमले ग्यास व्यवसायी तथा उत्पादकलाई क्रमशः निलो रङ र रातो रङमा सिलिन्डर उत्पादन गर्न निर्देशन दिएको छ । निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले उपभोक्ताले रातो सिलिन्डर प्रयोग गरेबापत के कति सहुलियत उपलब्ध गराउने भन्ने विषयमा सरकारले निर्णय गरेपछि निगमले सोहीबमोजिम सहुलियतको व्यवस्था मिलाउने बताए ।
उनका अनुसार आगामी असोजसम्ममा करिब १० लाख कार्ड वितरण हुने छ । दुवै रङका सिलिन्डरको मूल्य भने एउटै निर्धारण गरिने र उपभोक्तालाई विभिन्न बैंकमार्फत राहतसहितको सहुलियत रकम फिर्ता गराइने व्यवस्था मिलाइने छ ।
विभिन्न उपभोक्ता अधिकार मञ्च र जनस्तरबाट घरायसी प्रयोजनका लागि प्रयोग गरिने ग्यासमा सहुलियतको माग गरेपछि सरकारले गत वर्षदेखि नै सहुलियत उपलब्ध गराउनका लागि गृहकार्य गरिरहेको छ ।