साउन १९ । भक्तपुर नगरपालिका–२ जगातीस्थित विमल घेमसुको कुखुरा फार्ममा रहेका बर्डफ्लु सङ्क्रमित कुखुरा नष्ट गरेपछि फैलिएको दुर्गन्धका कारण स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् भने केहीले वस्ती नै छोडेका छन् ।
घेमसुको उक्त कुखुरा फार्ममा रहेको कुखुरा सङ्क्रमित भएको पुष्टि भएपछि गत मङ्गलबार प्राविधिक टोलीले पाँच हजार २२० वटा लेयर्स कुखुरा र ८५० किलो दाना नष्ट गरेर फार्ममै खाल्डो खनेर पुरिएको थियो ।
जिल्ला पुश सेवा कार्यालयसहितको प्राविधिक टोलीले राम्रोसँग कुखुरा नपुरेका कारण आएको दुर्गन्ध फैलिएपछि यहाँका बासिन्दा बिरामी भएका हुन् ।
बस्तीको बीचमा राखिएको फार्ममै कुखुरा गाडिएको स्थानबाट पानी उम्रिन थालेको, किरा तथा झिङ्गा फैलन थालेको र ५०० मिटरभन्दा परसम्म दुर्गन्ध फैलिएपछि यहाँका बासिन्दा बिरामी पर्नुका साथै घर नै छाडेर हिंड्न थालेको स्थानीयवासी न्हुच्छेभक्त जोशीले बताए ।
कुखुरा नष्ट गरेपनि बर्डप्mलु छिटो फैलन मद्दत पुग्ने भनिएको कुखुराको मल, भुत्ला र सुली नष्ट नगरी खुल्लारूपमा छाडिएपछि मानिसमा समेत सङ्क्रमणको डर भएको उनले बताए ।
यहाँका करिब १६ घरधुरीका बासिन्दाले बस्नै नसक्ने अवस्था आएको भन्दै आक्रोसित हुँदै महानगरीय प्रहरी वृत्त जगातेमा गएर तत्काल समस्याको समाधान गर्न माग गरेका छन् ।
जगाते प्रहरी वृत्त पुगेका जिल्ला पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्रराज भट्टलाईसमेत घेराउ गरी तत्काल समस्या समाधान नगरे फर्ममा आगो लगाइदिने बताएका छन् ।
दुर्गन्धका कारण परिवार लिएर विस्थापित हुन परेको बताउँदै स्थानीय कमलराज थापाले भने, “तीन दिनदेखि परिवार लिएर ताथलीको पुरानो घरमा बसेका छौँ, अति नै दुर्गन्ध फैलिएको छ, यसले मानवमा पनि बर्डफ्लुको जोखिम निम्त्याएको छ ।”
जिल्ला पशुसेवा कार्यालयका प्रमुख भट्टले आजै फर्म सञ्चालक र कार्यालयको टोलीले दुर्गन्धित क्षेत्रमा थप माटोले पुर्ने र औषधि छर्कने कार्य गरिने बताए ।
नियमानुसार बर्डफ्लु क्षेत्रमा स्वास्थ्यकर्मीको टोली गएर स्थानीयको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि अहिलेसम्म स्वाथ्यकर्मीको टोली बर्डप्mलु क्षेत्रमा गएर स्वास्थ्य परीक्षण गरिएको छैन । रासस

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।